काठमाडौं । नयाँ वर्षको सुरुवातसगैँ सरकारले भारी मात्रामा रकमान्तर तथा थप निकासा दिएको विववरण सार्वजनिक गरेको छ । गएको फागुन महिनामा मात्रै सरकारले ४६ आयोजनालाई २ अर्ब ३८ करोडभन्दा धेरै थप बजेट निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
५८ ओटा आयोजनाका लागि छुट्याइएको ३ अर्ब २९ करोड बजेट रकमान्तर गरेको छ । यसमा कतिपय ठूला र गौरवका आयोजनाहरुको समेत बजेट कटौती भएको छ ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक आयोजनाको १० करोड रुपैयाँ रकमान्तर गरेर गंगटे–समुद्रटार–गोल्फुभञ्ज्याङ सडक आयोजनामा हालिएको छ ।
तराईलाई चीनको नाकासँग जोड्ने यो सडकका लागि पनि रकमान्तर भएको छ । सरकारले सूर्यविनायक–धुलिखेल र कोटेश्वर–बानेश्वर–त्रिपुरेश्वर सडकको १२ करोड रुपैयाँ बजेट तानेर गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडकमा हालेको छ ।
भेरी करिडोरको १२ करोड २१ लाख रुपैयाँ तानेर उत्तरदक्षिण राजमार्ग र स्थानीय सडक, पुल निर्माणमा खर्च गरिएको छ । फेरि अर्कातिर उत्तर—दक्षिण राजमार्गको ७ करोड २९ लाख रुपैयाँ स्थानीय सडक पुल निर्माण र हुलाकी राजमार्गमा रकमान्तर गरिएको छ ।
हुलाकी राजमार्गलाई यो आयोजनाबाट ४ करोड रकमान्तर भएको छ भने नेपाल पानीजहाज कार्यालयको ६ करोड पनि हुलाकीमै रकमान्तर भएको छ । त्यस्तै औद्योगिक करिडोर (व्यापारिक मार्ग) विस्तार आयोजनाको ११ करोड रुपैयाँ पनि हुलाकी राजमार्गमै रकमान्तर भएको छ ।
औद्योगिक करिडोरको अर्को ८ करोड पनि तमोर करिडोर (चतरा–मूलघाट–माझिटार–ओलाङ्गचुङ्गगोला) मा रकमान्तर भएको छ । उता तमोर करिडोरको ५ करोड रुपैयाँ बजेट निर्वाचन क्षेत्र रणनीतिक सडकमा रकमान्तर भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो साल हुलाकी राजमार्गका साथै निर्वाचन क्षेत्र रणनीतिक सडकहरु स्थानीय सडक तथा पुलका आयोजनालाई ज्यादा महत्व दिएर रकमान्तर गरेको छ ।
निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि थुप्रै शीर्षकको बजेट रकमान्तर गरिएको छ । यसमा राजमार्ग स्तरोन्नती तथा पुनःस्थापना कार्यक्रम, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम र तमोर करिडोरबाट ३३ करोड ४३ लाख रकमान्तर भएको छ । यसमध्ये २६ करोड त वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमबाट रकमान्तर भएको हो ।
स्थानीय सडक, पुल आयोजनाका लागि विभिन्न शीर्षकबाट १३ करोड ५५ लाख रकमान्तर भएको छ ।
शहरी विकास मन्त्रालयले बस्ति विकास कार्यक्रमको ठूलो पैसा सघन शहरी विकास कार्यक्रममा रकमान्तर गरेको छ । बस्ति विकास कार्यक्रमको ७० करोड ९९ लाख ४० हजार रुपैयाँ विभिन्न शीर्षकमा रकमान्तर भएको छ । त्यसमध्ये ५२ करोड २२ लाख ४० हजार त सघन शहरी विकास कार्यक्रममा मात्रै रकमान्तर भएको छ ।
संघीय मामिला मन्त्रालयले उच्च पहाडी एवम् हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक सशक्तिकरण कार्यक्रमको पैसा सोही कार्यक्रम अन्तरगत करीब २६ करोड रुपैयाँ रकमान्तर गरेको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको ४३ करोड २३ लाख रुपैयाँ सोही कार्यक्रमभित्रै रकमान्तर गरेको छ ।
उत्तर दक्षिण राजमार्ग (कर्णाली, कालीगण्डकी र कोशी)को ७ करोड २९ लाख, नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाको ३ करोड, डुम्रे–बेशीशहर–चामे–मनाङ सडकको ३ करोड रुपैयाँ बजेट कटौति भएको छ ।
यसका साथै फागुनमै ज्यापु संस्कृति विकास कोष र नेपाल सम्वत् संरक्षण समाजलाई २५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको पनि अर्थ मन्त्रालयले जनाएको छ ।
Comments are closed.