रामपुर साकोसको सहयोगमा निर्मित प्रतिक्षालय रामतुलसी माविलाई हस्तान्तरण

रामपुर (पाल्पा) । रामपुर बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले रामतुलसी नमुना माध्यमिक विद्यालयलाई प्रतिक्षालय हस्तान्तरण गरेको छ ।

आफ्नो १८ औँ संस्था स्थापना दिवसको अवसरमा प्रतिक्षालय हस्तान्तरण गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा निर्माण गरेको प्रतिक्षालय बिहिबार स्थापना दिवसको अवसरमा विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्षालय हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिशाल श्रेष्ठ (अशोक) ले विद्यालयप्रति संस्थाले देखाएको सद्भावका लागि धन्यवाद दिएका छन् । प्रधानाध्यापक बालकृष्ण लम्सालले प्रतिक्षालयले विद्यालयमा आउने अभिभावकसँगै विद्यार्थी र शिक्षकहरुको लागि महत्वपूर्ण टेवा पुग्ने बताए ।

रामपुर साकोसका अध्यक्ष गुरुप्रसाद रेग्मीले ६ लाख ६२ हजार ४४० रुपैयाँको लागतमा प्रतिक्षालय तयार भएको बताए । प्रतिक्षालय निर्माणका लागि १ लाख ५० रुपैयाँ विनियोजन गरेको सहकारीले जनाएको छ ।

प्रतिक्षालयको लागि आवश्यक काठ राम्चे सामुदायिक वन, गावुडाँडा सामुदायिक वन र सालबोटे सामुदायिक वनले सहयोग गरेको हो । नगद खर्च १ लाख ८२ हजार ९६० लागेको थियो । अपुग रकम विभिन्न व्यवसायी तथा सामाजिक व्यक्तित्वको सहयोगमार्फत व्यवस्था गरिएको अध्यक्ष रेग्मीले जानकारी दिए ।

You might also like

Comments are closed.