परवानीपुर (पर्सा) । खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका–१८ सुप्चैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताएका छन् ।
वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलन्यास गर्दै मन्त्री यादवले निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षात्को समयमा हुने जल जमावटको समस्या पूर्ण रुपमा समाधान हुने र आवागमनमा समेत सहजता आउने बताएका हुन् ।
उनी भन्छन्, “नाला तथा ढलान निर्माणपछि यो क्षेत्रको जल निकासी प्रणाली सुधार हुने र सडक व्यवस्थित हुने छ । विकास निर्माणको कार्यमा सबै पक्षको सहकार्य आवश्यक छ ।” यसैगरी मन्त्री यादवले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नागरिकको दैनिक जीवन सहज बनाउन यस्ता आयोजना निकै महत्वपूर्ण रहेको रहेको समेत उल्लेख गरे ।
मन्त्री यादवले सो क्षेत्र आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने भएकाले यस वडाका जनताको समस्या बुझेर उहाँहरुको सुविधाका लागि आवश्यक बजेट विनियोजन गरी यो कार्यको शुभारम्भ गरिएको समेत जानकारी दिए । शुद्ध खानेपानी वितरण, नाला तथा ढलान निर्माणजस्ता जनताको प्रत्यक्ष जीवनसँग जोडिएका सेवा सुविधालाई प्राथमिकतामा राख्दै ती कार्य समयमै सम्पन्न गर्न समेत मन्त्री यादवले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन् ।
रु एक करोड ७२ लाखको लागत शिलान्यास गरिएको नाला तथा ढलान निर्माण वडानं १८ सुप्चैना र वडा नं २१ परवानीपुर सम्म एक हजार २५६ मिटर लम्बाई रहेको वीरगञ्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारले बताएका छन् ।
नाला तथा ढलान निर्माण कार्य प्रारम्भ भएपछि अब सहज र व्यवस्थित जल निकासी प्रणाली पाउने भन्दै यहाँका स्थानीयबासीले खुशी व्यक्त गरेका छन् । वर्षौँदेखि जल जमावटका समस्याबाट आजित बन्दै आएका यहाँका स्थानीयवासीले अब सहज र व्यवस्थित जल निकासी प्रणाली पाउने अपेक्षा लिइएको छ ।
Comments are closed.