काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठले प्रवासमा बस्ने नेपालीको हित र नेपालको समृद्धिका लागि आफ्नो कार्यकाल केन्द्रीत हुने बताएका छन् । मे ४ मा काठमाडौंमा सम्पन्न एनआरएनएको एकता महाधिवेशनमा निर्विरोध निर्वाचित भएका श्रेष्ठले छोटो समयमै सक्रियतापूर्वक भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।
शनिवार अध्यक्ष श्रेष्ठले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग उनकै निवासमा भेटघाट गरेका छन् । भेटमा नेपालको पूर्वाधार विकासमा एनआरएनएको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । मन्त्री सिंहले विगतमा एनआरएनएको योगदानको प्रशंसा गर्दै वर्तमान कार्यसमितिले यो कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।
त्यस्तै, सोही दिन श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री शरत सिंह भण्डारीसँगको भेटमा अध्यक्ष श्रेष्ठले खाडी मुलुकलगायत विदेशमा कार्यरत नेपाली श्रमिकको समस्या समाधानमा जोड दिए । उनले विदेशमा अप्ठ्यारोमा परेका नेपाली श्रमिकका लागि एनआरएनएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूले अभिभावकको भूमिका निर्वाह गरिरहेको जानकारी गराए । साथै, सरकारसँग सहकार्य गर्न एनआरएनए सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरे । मन्त्री भण्डारीले एनआरएनएको वर्तमान कार्यसमितिसँग श्रम मन्त्रालयले सहकार्य गर्ने बताउँदै नेपाली श्रमिकहरूको हितका लागि मन्त्रालय सधैँ प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
अध्यक्ष श्रेष्ठले आफ्ना हरेक भेटघाट र छलफलमा एनआरएनए नागरिकताको कार्यान्वयन, आवश्यक ऐन निर्माण र नेपालको आर्थिक समृद्धिमा साझेदारीका विषयलाई प्राथमिकतामा राखेका छन् । उनले प्रवासमा रहेका नेपालीको हकहित संरक्षण र नेपालको विकासमा योगदान पु¥याउने लक्ष्यसहित आफ्नो कार्यकाललाई केन्द्रित गर्ने बताएका छन् ।
एनआरएनएको एकता र सक्रियतासँगै नेपाल सरकारसँगको सहकार्यलाई थप बलियो बनाउँदै प्रवासी नेपालीको आवाजलाई प्रभावकारी रूपमा उठाउने श्रेष्ठ बताए । उनले भने ‘म सबैसँग सहकार्य गरेर एनआरएनएको साखलाई माथि उठाउन केन्द्रीत छु ।’ यसैगरी अध्यक्ष श्रेष्ठले अहिले पनि केही साथीहरु बाहिर रहेको सन्दर्भबारे जानकारी दिँदै वार्ता र संवादकै चरणमा रहेकाले केही समयमा सकारात्मक नतिजा आउने पनि बताए ।
Comments are closed.