उपभोक्ता सुरक्षाबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ कर्पोरेसनको संयुक्त आयोजनामा पत्रकारसँग उपभोक्ता सुरक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार काठमाडौंमा सम्पन्न कार्यक्रमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा विज्ञ तथा वक्ताहरुले पछिल्लो समय उपभोक्ता सुरक्षाको विषय पेचिलो बन्दै गएको बताउँदै उपभोक्ताको अधिकार र सुरक्षामा सम्पूर्ण निकाय एकजुट हुनुपर्ने बताए । मन्त्री भण्डारीले उपभोक्ता सुरक्षाका लागि सरकारले नियमित रूपमा बजार अनुगमन गर्ने र दोषीलाई कारबाही गर्ने काम गरिरहेको बताए । यद्यपि, उपभोक्ता सुरक्षाका लागि निजी क्षेत्र पनि जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।

पूर्व वाणिज्य सचिव पुरुषोक्तम ओझाले पनि उपभोक्ता सुरक्षाका लागि बस्तु तथा सेवाको उपलब्धतामा र गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताए । ‘निजी क्षेत्रको एकाधिकार भएमा उपभोक्ता मारमा पर्छन्, स्वस्थ प्रतिस्पर्धा हुनु आवश्यक छ, कार्टेलीङको कारण उपभोक्तालाई मारमा पर्न नदिन यस्ता संस्थानको स्थापना भएको हो, साल्ट ट्रेडिङले जसरी काम गरेको छ, त्यो मोडालिटि ठिक छ, निजी क्षेत्रको स्वामित्व यसमा बढी हुँदा निर्णयहरू चाँडो भई काम गर्न सहज हुन्छ,’ उनले भने ।

नेपाल आर्थिक पत्रकार संघकी अध्यक्ष मेनुका कार्कीले अत्यावश्यक वस्तुको बिक्री वितरणमा साल्ट ट्रेडिङले गर्दै आएको व्यवसायीक कुशलताको लागि कृतज्ञता व्यक्त गर्दै बजार मूल्य नियन्त्रणमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बत्ताइन् । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीका भट्टले पनि उपभोक्ता सुरक्षामा जोड दिदै उपभोक्ता सुरक्षाका विषयमा उठेका अन्योलता चिनुपर्ने बताए ।

साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र आयल निगमसँग भविष्यमा सहकार्य गर्न सकिने बताउँदै उनले अव्यवस्थित एवंम अस्वस्थ बजार प्रतिस्पर्धालाई कम गर्न साल्ट ट्रेडिङको स्थापना भएको उनले बत्ताइन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले साल्ट ट्रेडिङले गरेका काममा पनि विभिन्न समयमा प्रश्नहरू उठ्ने गरेको बताउँदै फ्री इकोनोमीमा यस्ता प्रकारका मुद्दा उठ्नु स्वाभाविक भएको बताए ।

स्वास्थ्य सेवा विभागका सिनियर पब्लीक हेल्थ अफिसर दीपक झाले विदेशी अनुदान रोकिँदा नुनमा आयोडिनको मात्राबारे अनुसन्धान कार्य रोकिएको बताए । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत शरद विक्रम राणाले पनि उपभोक्ता सुरक्षामा गम्भीर हुनुपर्ने बताए । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नुनको गुणस्तरमा समस्या भए उजुरी गर्नुपर्ने बताए ।

साल्ट ट्रेडिङ कर्पोरेसनका डेपुटी प्रमुख कार्यकारी अधिकृत कुमारराज भण्डारीले साल्ट ट्रेडिङको विगत, वर्तमान र भविष्यबारे कार्यपत्र कार्यपत्र प्रस्तुति दिदैं गर्भवती, वयस्क, सुत्केरी लगायतका लागि छुट्टा छुट्टै नुन ल्याउने विषयमा सरकारले नै अग्रसरता देखाउनुपर्ने बताए ।

You might also like

Comments are closed.

Secret Link