रामपुर (पाल्पा) । मगर ढुट भाषाको अन्तर सम्बन्धको अध्ययन तथा नेपाल भाषासम्बन्धी अन्तर्क्रिया कार्यक्रम पाल्पाको रामपुरमा सम्पन्न भएको छ । भाषा आयोगको आयोजना र रामपुर नगरपालिकाको सहकार्यमा सोमबार कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषालाई ब्राण्डिङको रूपमा अघि बढाउन आवश्यक रहेको समेत बताए । स्थानीय स्तरमा हुने उत्पादनलाई आफ्नै भाषाबाट ब्रान्ड बनाउन उनले आग्रह गरे । “जुन समाजले आफ्नो मौलिक उत्पादन गर्न सक्दैन । उत्पादन सम्बन्ध बाट भाषालाई जोड्न सकिँदैन भने भाषाको हराएर जान्छ” उनले भने । बहुभाषिक शिक्षाले मात्रै मातृभाषाको संरक्षण हुने बताउँदै उनले संविधानले प्रदान गरेको अधिकारको सदुपयोग गर्दै मातृभाषामा कक्षा सञ्चालन गर्न सकेमात्र भाषाको संरक्षण हुने बताएका छन् ।
मातृभाषाबाट शिक्षा सञ्चालन गर्न, आफ्ना उत्पादनको ब्राण्डिङ गर्न र गतिविधि सञ्चालन गर्न सकिने व्यवस्था संविधानमा रहेको उल्लेख गरे । भाषा उमार्न सकेनौं भने भौतिक पूर्वाधार निर्माणको अर्थ नहुने र नयाँ पुस्तालाई भाषासँग जोड्न उनको आग्रह छ । उनी भन्छन्,“पहिला आफ्नो घर बाट सुरु गर्नुस् । नयाँ पुस्तालाई पुस्तान्तरण गर्नुस् । तब मात्र मातृभाषाको विकास हुन्छ” । कुनै पनि भाषाको एकनासले विकास भएको इतिहास नरहने भन्दै बोल्नु र लेख्नु भनेको भाषालाई पुनर्जीवन दिनु भएको बताए ।
रामपुर नगर प्रमुख रमणबहादुर थापाले पहिचानका लागि भाषा अनिवार्य रहेको बताए । भाषा तथा संस्कृतिलाई एकैसाथ अघि बढाउने जनाउँदै मातृभाषाको जगेर्नाको लागि पालिकाले सक्दो प्रयास गर्ने उनले बताएका छन् । कार्यक्रममा आयोगका का.मु. सचिव डाक्टर लोकबहादुर लोप्चनले भाषा संरक्षणको लागि समुदायस्तर र विद्यालयस्तरमा कक्षा सञ्चालन गर्नु आवश्यक रहेको बताए ।
उनले आयोगले सरकारी भाषा कामकाजको भाषा सिफारिस, भाषाहरूको संरक्षण तथा संवद्र्धनका लागि अभिलेख र भाषाकक्षा सञ्चालन, मातृभाषामा शिक्षा सिफारिस र सहजीकरण, अध्ययन अनुसन्धान र समन्वय, आन्तरभाषिक अनुवाद यान्त्रिकीकरण भाषिक सन्देश जारी गर्दै आएको बताए । कार्यक्रममा मगर भाषा विज्ञ लोकबहादुर थापाले सबैको सक्रियताले मात्र भाषाको संरक्षण र जगेर्ना गर्न सकिने बताएका छन् ।
कार्यक्रममा नेपाल मगर सङ्घका केन्द्रीय सदस्य क्या. धनबहादुर रानाले जाति र समुदायको भाषा दश कोषको दुरीमा फरक फरक रहने जनाउँदै संघले भाषाको जगेर्नाको लागि निरन्तर पहल गर्दै आएको बताए । नेपाल मगर संघका अध्यक्ष रामबहादुर हिस्की थापा घरमा मातृभाषा नबोल्दा नयाँ पुस्ता आफ्नो भाषा बाट बञ्चित भइरहेको बताउँछन् । एकीकृत मगर उत्थान समाजका अध्यक्ष क्याप्टेन देवबहादुर थापा मश्राङ्गी भाषा जोगाउनका लागि विभिन्न प्रयास हुँदै आएको जानकारी दिए ।
नेवाः देय दवु रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठले बसाइसराई र परिवारले बालबालिकालाई मातृभाषमा जोड नदिदा भाषा हराउँदै गएको बताए । रामपुर नेवाः समाजका अध्यक्ष बाबुराम श्रेष्ठले भाषा नजान्दा अहिले समस्या हुँदै जानकारी दिए । भाषा आयोगका सदस्य डा. पुष्करराज भट्टको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन आयोगका प्राविधिक सहायक अनिल केसीले गरेका हुन् ।
Comments are closed.