७ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

पोखरा । कास्की र तनहुँका तीन स्थानमा भएका तीन स्वास्थ्य शिविरमा ७ सय जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा ती शिविर भएका हुन् ।

बिहीबार पोखरा २२ मा भएको शिविरमा मधुमेह र थाइराइडसम्बन्धी जाँच सित्तैमा गरिएको थियो । पोखरा लेडी जेसिजको आयोजनामा भएको कार्यक्रममको व्यवस्थापन सन्तान आइभिएफ महेन्द्रपुलले गरेको थियो ।

कार्यक्रममा पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले स्थानीयको टोल, टोलमै विशेषज्ञसहितको गुणस्तरीय सेवा र सचेतना उपलब्ध हुँदा स्वास्थ्य सेवाको उपलब्धतामा सहज हुने बताए । तीन सय जनाको सित्तैमा जाँच गरिएको कार्यक्रममा रेडियोलोजी सेवासहित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले पनि सेवा दिएका थिए ।

कार्यक्रममा सन्तान आइभिएफका प्रबन्ध निर्देशक नीलकण्ठ पराजुलीले पछिल्लो समय बढेको बाँझोपनको निदान र सन्तान प्राप्तिका अरु उपायहरु पनि रहेको औंल्याए । उनले यो प्रविधि केही महंगो रहेको जनाउँदै उनले विपन्न नागरिकलाई वडा कार्यालयको सिफारिसमा शतप्रतिशतसम्म शुल्कमा छुट दिइने प्रष्ट पारे । पोखरा लेडी जेसिजकी अध्यक्ष गीता ढुंगानाले समेत बोलेकी थिइन् ।

शुक्रबार ज्योति कुञ्ज सेकेन्डरी स्कुल पोखरा १० रामबजारको आयोजनामा निशुल्क शिविर आयोजना गरियो । विद्यालयको ३६ औं वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा एक सय ७० जनाको मधुमेह र रगतमा हुने खराब बोसो ९टिजी० सित्तैमा जाँच गरिएको थियो ।

विद्यालयका संस्थापक अध्यक्ष बालाकृष्ण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले युआरएलले सेवासँगसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै आएको जनाए । उनले भने, ‘सेवासँगै सामाजिक उत्तरदायित्व बहनमा पनि हामीअघि छौँ । नागरिक, स्वास्थ्यकर्मी र समाजको विश्वास र साथ पनि पाएका छौँ ।’

शनिबार तनहुँको सेवा हस्पिटल दुलेगौंडाको आयोजनामा अर्को शिविर भएको छ । यो शिविरमा ३ सय ११ जनाको मधुमेह र थाइराइडसम्बन्धी जाँच सित्तैमा गरिएको थियो । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले खानपान र जीवनशैलीकै कारण धेरै रोग लाग्ने भएकाले त्यसमा ध्यान पु¥याउन आग्रह गरे ।

उनले भने, ‘समाजमा अनेक भ्रम पनि छन् । ती भ्रमको पछि नलागी बेला बेलामा स्वास्थ्य जाँच, उचित उपचार र खानपान अवलम्बन गरे दीर्घ जीवन सम्भव हुन्छ ।’

कार्यक्रमा युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले सर्वोत्कृष्ट प्रविधिसँगै दक्ष जनशक्ति र गुणस्तरीय सेवाका कारण युआरएल यो क्षेत्रको अग्रणी ल्याब बनेको बताए । तनहुँको सेवा हस्पिटलका अध्यक्ष हरि खड्काको अध्यक्षतामा भएको कार्यक्रममा युआरएलका मार्केटिङ निर्देशक मणि न्यौपाने लगायतले बोलेका थिए ।

युआरएलले विभिन्न संघ, संस्था सँगको सहकार्यमा अहिलेसम्म १ सय ९९ शिविर आयोजना गरिसकेको छ ।

You might also like

Comments are closed.