कमलादीमा ग्लोबल आइएमई बैंकद्वारा चार्जिङ स्टेशन स्थापना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (इभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा चार्जिङ स्टेशन स्थापना गरिएको हो ।

बिहिबार आयोजित एक विशेष कार्यक्रमकाबीच बैंकका सञ्चालक कृष्णप्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्त रुपमा चार्जिङ स्टेशनको समुद्घाटन गरे । गाडी चार्ज प्रालिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटु सिगंल गनको ४० किलोवाट क्षमता रहेको छ ।

चार्जिङ स्टेशनमा बैंकमा सेवाको लागि आउने ग्राहक र कर्मचारीलाई आफ्नो इभी गाडी चार्ज गर्न व्यवस्था गरिएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढेसंगै बैंकमा आउने ग्राहकको सवारी साधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो । सञ्चालक शर्माले बैंकले आफ्नो ग्राहकको सुविधालाई मध्यनजर गरी वातावरण अनुकुल इभी सवारी साधनको प्रर्वद्धनको एक पहलको रुपमा यस चार्जिङ स्टेशनको स्थापना गरेको जानकारी दिए । बैंकले आफ्नो व्यवसाय विस्तारसंगै वातावरणमैत्री उपायहरु अवलम्बन गरिरहेको समेत उनले बताए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आइएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको बताएका छन् । ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार विरुवा रोपण गरिरहेको बताउँदै बैंकले वातावरण मैत्री प्रोडक्टहरु ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको उनी बताउँछन् । ग्लोबल आइएमई बैंकले सञ्चालन गरेको इभि चार्जिङ स्टेशन अन्य बैंक तथा वित्तीय संस्थाले समेत अबलम्वन गर्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारी र गाडी चार्ज प्रा.लि.को प्रतिनिधि लगायत सहभागी थिए ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट फरक–फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.