पत्रकार दुवाललाई कमल राष्ट्रिय सुकर्म पुरस्कार

सुशीला रेग्मी

रामपुर (पाल्पा) । राजनीतिज्ञ एवं दार्शनिक साहित्यकार स्वर्गीय कमलराज रेग्मीको स्मृतिमा स्थापित कमल राष्ट्रिय सुकर्म पुरस्कार २०८१ पत्रकार मोहन दुवाललाई प्रदान गरिएको छ ।

शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पामा स्व. रेग्मीका छोरा बरिष्ठ मुटु रोग बिशेषज्ञ डाक्टर प्रकाशराज रेग्मीद्वारा स्थापित पुरस्कार जनमत मासिकका प्रधान सम्पादक, साहित्यिक पत्रकार, बरिष्ठ साहित्यकार दुवाललाई प्रदान गरिएको हो ।

शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाका अध्यक्ष पुष्करराज रेग्मी ‘अथक’को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषद्का पुर्व अध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी लगायतले नगद रु ५१ हजार पुरस्कार सहित प्रमाण पत्रले सम्मान गरेका हुन् ।

मन्त्री परिषदका पूर्व अध्यक्ष रेग्मीले राष्ट्रिय जीवनमा प्रभाव पारेका व्यक्तित्वको योगदान र स्मरणले सुकर्मका लागि अभिप्रेरित गर्ने बताए । प्रतिष्ठानले गर्दै आएको कार्यक्रम र अभियानले राष्ट्रियस्तरमै पाल्पाको पहिचान बढाएको उनी बताउँछन् । कार्यक्रमको विशिष्ट अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारीेले साहित्यले सामाजिकीकरणमा प्रभाव पारेको भएपनि सामाजिक रुपान्तरणका लागि ठूलो संघर्ष गर्नुपर्ने बताए ।

समाजसेवा, साहित्य, राजनैनिक, पत्रकारिता, पाल्पामा विभिन्न क्षेत्रमा योगदान लगायतका विभिन्न मापदण्डका आधारमा पुरस्कार छनौट गरिएको हो । यसअघि साहित्यकार झपेन्द्रबहादुर जि.सी., बैधराज विश्वमान बज्राचार्य, समाजसेवी राधा भारती, कलाकार अशोक आर्ट, शिक्षाविद् बुद्धिप्रसाद शर्मा र डा. रचेल कारखलाई यो पुरस्कार प्रदान गरिसकिएको छ ।

कार्यक्रममा कमलराज रेग्मीको परिचय र योगदानमाथि शिक्षाविद, समाजसेवी बुद्धिप्रसाद शर्माले जानकारी दिएका हुन् भने कवयित्री सरस्वती अर्यालद्वारा रेग्मीद्वारा लिखित कविता वाचन गरिएको थियोे । पुरस्कृत व्यक्ति दुवालको जीवनीबारे रामप्रसाद ज्ञवालीले जानकारी गराएको कार्यक्रममा विष्णु गुरुङले गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा डा.रेग्मीद्वारा बुबा कमलराजको स्मृतिमा जनमत वाङ्मय प्रतिष्ठान काभ्रेका लागि अक्षयकोष तथा पुरस्कार स्थापनाका लागि रु ३ लाखको चेक जनमतका अध्यक्षलाई र साहित्यकार दुर्गा अधिकारी भमरेकोटेद्वारा ‘सुसेली सम्मान’ स्थापनाका लागि रू ५० हजार राशीको अक्षयकोष प्रतिष्ठानका अध्यक्षलाई प्रदान गरिएको छ ।

अधिकारी भमरकोटेलाई विशिष्ट सदस्यता, मोहन दुवाल, भारती श्रेष्ठ, शान्ता शाक्य, निलम गोंगल, रेणुका श्रेष्ठ, ऋषिकेशव धौवडेल, कृष्णबहादुर के.सी. र राजभाइ प्रधानलाई आजीवन सदस्यता प्रदान गरिएको जनाइएको छ । सुसेली प्रवर्तक अधिकारी भमरकोटे, तानसेन गुठीका अध्यक्ष प्रमि श्रेष्ठ, पुरस्कृत व्यक्तित्व दुवाल, प्रतिष्ठानका संरक्षक डा. रेग्मीले आफ्ना धारणा राखेका छन् ।

ललितपुरको एलिस कन्फ्रेन्स बखुण्डोलमा कार्यक्रममा सहभागीलाई स्वागत उपाध्यक्ष रोहितप्रसाद ज्ञवालीले र कार्यक्रमको सञ्चालन दामोदर ढकाल ‘दीपक’ ले गरेका हुन् । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठानको स्थापना २०६३ सालमा पाल्पामा भएको हो । प्रतिष्ठानले शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्नुका साथै हरेक वर्ष विभिन्न व्यक्तित्वलाई पुरस्कृत एवं सम्मानित गर्दै आएको छ ।

You might also like

Comments are closed.

Secret Link