प्रेस स्वतन्त्रतामाथि अदालतको हस्तक्षेपप्रति इकोनोमिक मिडिया सोसाइटी नेपालको ध्यानाकर्षण

काठमाडौं । पछिल्लो समय सञ्चारमाध्यमहरूमा प्रकाशित सामग्री हटाउने र नयाँ सामग्री प्रकाशनमा रोक लगाउने अदालती आदेशहरू जारी हुन थालेपछि यस प्रकारको घटनाप्रति इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले ध्यानाकर्षण जनाएको छ ।

इम्सनले विज्ञप्ति जारी गर्दै नेपालको संविधान २०७२ ले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको स्मरण गराउँदै पछिल्ला घटनाले नेपालमा प्रेस स्वतन्त्रता कुण्ठित हुँदै गएको गम्भीर आशंका उत्पन्न गराएको जनाएको छ । विज्ञप्तिमा बिजमाण्डु प्रालि र नेपाल खबर प्रालिलाई समाचार हटाउन तथा थप प्रकाशनमा रोक लगाइएको र पत्रकार दिलभुषण पाठकमाथि पक्राउ पुर्जी जारी गरिनु प्रेस स्वतन्त्रता प्रतिको आक्रमणसरह भएको ठहर गरिएको छ ।

इम्सनका अनुसार कुनै समाचार सामग्रीप्रति असन्तुष्टि वा विवाद उत्पन्न भएमा त्यसको प्रारम्भिक निरूपण तथा मूल्याङ्कन गर्ने संवैधानिक निकाय प्रेस काउन्सिल नेपाल भएको स्पष्ट छ । संविधानको रक्षा गर्ने जिम्मेवारी अदालतको भए पनि प्रेस स्वतन्त्रताको मर्म र मिडिया स्वतन्त्रताको संवैधानिक प्रत्याभूतिलाई अदालतले सधैं संरक्षण गर्दै आएको उदाहरण रहेको स्मरण गराइएको छ ।

इम्सनले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकार तथा मिडिया सञ्चालकको पेशागत स्वतन्त्रता र प्रेस काउन्सिल नेपालको संस्थागत मर्यादा जोगाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको छ । साथै, स्वतन्त्र र निष्पक्ष पत्रकारिताको मर्म अनुसार पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सम्पूर्ण पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रहसमेत गरिएको छ ।

संविधान प्रदत्त प्रेस स्वतन्त्रता कायम राख्न सम्पूर्ण निकायहरू सचेत र संवेदनशील रहनुपर्ने इम्सनको भनाइ छ ।

You might also like

Comments are closed.