अर्थमन्त्री पौडेलसँग नाडाको भेटघाट

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको टोलीले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरेको छ ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री पौडेलसँग भेटघाट गरी आउँदो भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुने १७औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरी दिन औपचारिक निमन्त्रणा गरेको छ ।

भेटघाटमा अध्यक्ष चौधरीले धेरै समयको अन्तरालपछि नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र नीजि क्षेत्रमैत्री बजेट आएको बताए । सोही छलफलको क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलो पटक सिमरामा सवारी साधन मेनुफेक्चरिङ्ग उद्योग खोल्ने तयारी भइरहेकाले त्यस्ता उद्योगलाई टेवा पुग्ने नीति आउनुपर्ने, यस्ता मेनुफेक्चरिङ्ग उद्योगलाई थप सुविधा उपलब्ध गराउनुपर्ने र नीतिमा स्थिरता ल्याउनका लागि आग्रह गरेका छन् ।

अर्थमन्त्री पौडेलले नाडाको राखेको आग्रहलाई सहर्ष स्वीकार गर्दै नेपालका अटोमोवाइल व्यवसायीले धेरै भन्दा धेरै राजश्व उपलब्ध गराएर सरकारलाई सहयोग गर्नुपर्ने बताए । नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेत लगायत भेटघाटमा सहभागी थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.