प्रतिभा माविमा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ अन्तर्गत फुटसल प्रतियोगिता सुरु

पोखरा । नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा शुक्रबारदेखि दुईदिने फुटसल प्रतियोगिता सुरु भएको छ। ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ अन्तर्गत सञ्चालन भएको प्रतियोगिताको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रञ्जीतले उद्घाटन गरेका हुन्।

प्रतियोगितामा विभिन्न विद्यालयका २८ वटा टिम सहभागी भएका छन्। माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर फुर्सदमा रहेका विद्यार्थीलाई खेलकुदमा संलग्न गराउने उद्देश्यले विद्यालयले प्रतियोगिता आयोजना गरेको हो।

कार्यक्रम संयोजक तथा प्रतिभा माविका प्लस टु इन्चार्ज राकेश जोशीका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई रु. २० हजार र द्वितीय हुनेलाई रु. १० हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ। साथै, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिने तयारी गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि उज्जवल रञ्जीतले यस्तो प्रतियोगिताले विद्यालय तहमै लुकेको खेल प्रतिभा पहिचान गर्न सहयोग पुग्ने बताए। “धेरै विद्यार्थीमा क्षमता हुँदाहुँदै पनि अवसर नपाउँदा लुकेका हुन्छन्,” उनले भने, “फुटसलजस्ता प्रतियोगिताले ती प्रतिभालाई उजागर गर्न सहयोग गर्छन्।”

त्यस्तै, फुटबल खेलाडी चन्द्र गुरुङले फुटसल मैदान विद्यार्थीका लागि क्षमता देखाउने प्लेटफर्म भएको टिप्पणी गरे। विद्यालयका प्राचार्य किरण सापकोटाले युवापुस्ताबीच फुटसलको लोकप्रियता बढिरहेको सन्दर्भमा प्रतियोगिता खेल र स्वास्थ्य दुवैको लागि लाभदायक हुने उल्लेख गरे।

उनका अनुसार प्रतियोगिता मात्र नभई यो एक प्रकारको खेल महोत्सव पनि हो, जसले विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरूलाई परस्पर सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गरेको छ।

विद्यालयले असार १ देखि ३ गतेसम्म बास्केटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टनलगायतका खेलकुद तथा रचनात्मक प्रतियोगिता सञ्चालन गरिसकेको छ। शनिबार भने हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिने प्राचार्य सापकोटाले जानकारी दिए।

उनका अनुसार यस वर्षको महोत्सवमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई जम्मा गरेर रु. २ लाख ५० हजार रुपैयाँ बराबरको पुरस्कार वितरण गरिनेछ।

प्रतिभा माविले अघिल्ला वर्षहरूमा पनि एसइइ पास विद्यार्थीलाई लक्षित गरी यस्तै खेलकुद तथा रचनात्मक गतिविधि आयोजना गर्दै आएको उल्लेख गरिएको छ। प्रतियोगिताको माध्यमबाट नयाँ साथी बनाउने, समावेशी प्रतिभा देखाउने र सकारात्मक प्रतिस्पर्धा विकास गराउने उद्देश्य विद्यालयले राखेको छ।

You might also like

Comments are closed.