काठमाडौं । रौतहटमा आईएमई ग्रुपको मुख्य लगानीमा एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा आएको छ । डेढ अर्ब रुपैयाँ लागतमा उद्योग खुलेको हो । आईएमई ग्रुपले वित्तीय क्षेत्रबाट आफ्नो व्यवसाय सुरु गरेकोमा पर्यटनसँगै उत्पादनमूलक उद्योगमा समेत धमाधम लगानी गरिरहेको छ ।
विशेषगरी वित्तीय, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा संलग्न आईएमई ग्रुपले कागज कारखाना समेत सञ्चालन गरेको छ ।नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको कागज कारखानामा आईएमई ग्रुपको २ अर्ब बढी लगानी छ । २०८१ फागुनमा कागज उद्योग उद्घाटन गरेको ग्रुपले त्यसको ४ महिनामै अर्को उत्पादनमूलक सिमेन्ट बोर्डको उद्योग खोलेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका ग्रुप अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला वर्ष आफ्नो व्यवसायलाई आक्रामक रूपमा विस्तार गरिरहेका छन् । उनले केही साझेदारसहित सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा ल्याएका हुन् ।
एभरेस्ट फाइबर सिमेन्ट बोर्डको अध्यक्षमा चन्द्रका छोरा निशान छन् । उद्योगको प्रबन्ध निर्देशकमा प्रदीप पण्डित र कम्पनी निर्देशकमा टासी वाङ्ग्याल लामा रहेका छन् । उद्योगका प्रबन्ध निर्देशक पण्डितले परीक्षण उत्पादन सकेर व्यावसायिक उत्पादन सुरु गर्न लागेको बताएका छन् ।
Comments are closed.