काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वातावरणमैत्री गाउँ निर्माण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकास्थित डाँडागाउँ वस्तीलाई वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माण गर्ने उद्देश्यले सरोकारवालासँग अन्तर्क्रिया भएको छ ।
कार्वन उत्सर्जन न्यूनीकरण, फोहोर व्यवस्थापन र वृक्षरोपण गरी स्वच्छ वातावरण निर्माण गर्ने, उद्यमशीलता विकास गरी आयआर्जन वृद्धि तथा बेरोजगारी अन्त्य गर्न त्यहाँका जनता र सरोकारवालाको समन्वयमा वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माणका लागि कार्यक्रम गरिएको हो । बालविकास समाज आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता तामाङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी रहेका हुन् ।
प्रमुख अतिथि नगर प्रमुख अधिकारीले वातावरण संरक्षण, उद्यमशीलता विकास र रोजगारी सृजना जस्त महत्वपुर्ण कुराहरु समेटेर वातावरणमैत्री गाउँ निर्माण गर्न अगुवाई गरेकोमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थालाई धन्यवाद दिए । समाजको र समुदायको हित हुने यस्ता कार्यमा नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्न तत्पर रहेको नगर प्रमुख अधिकारी बताउँछन् ।
नगर उपप्रमुख अनिता लामाले वातावरणमैत्री गाउँ निर्माण गर्ने कार्य अति जरुरी रहेको बताउँदै विशेषगरी बुढानिलकण्ठको डाँडागाउँ एक सुन्दर र रमणीय गाउँ भएको कारण पर्यटनको अथाह संभावना भएको बताइन् । फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेकाले फोहोर व्यवस्थापन गरी वातावरण संरक्षण गर्ने कार्यलाई प्राथमिकतामा राख्न सुझाव दिइन् ।
विद्यालयका प्रधानाध्यापक धोर्जे तामाङले डाडाँगाउको आजको मूल आवश्यकता यहाँको सुन्दरता र वातावरणको संरक्षण नै गर्नुपर्ने भएकाले विद्यालय, स्थानीय यूवाको परिचालन तथा समन्वय गरी लक्ष्य हासिल गर्न मिलेर काम गर्ने बताए । केन्द्रीय कार्यालय उद्यमशीलता, ग्राहक संरक्षण तथा अनुसन्धान विभागका प्रबन्धक सुमन श्रेष्ठले वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माणको अवधारणा र इलाका कार्यालय ठिमीका प्रबन्धक चेतनाथ बगालेले वित्तीय साक्षरता सम्बन्धी सहजिकरण गरेका हुन् ।
कार्यक्रममा स्थानीय व्यापारी, आमा समूहका प्रतिनिधि, विद्यार्थी, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका सदस्य तथा शाखा कार्यालय चुच्चेपाटीका कर्मचारी र स्थानीयबासी लगायत सहभागी थिए ।
Comments are closed.