चेम्बर र मलेसिया नेपाल बिजनेश काउन्सिलबीच ब्यापार साझेदारीबारे छलफल

काठमाडौं । नेपाल भ्रमणमा आएको मलेसिया नेपाल बिजनेश काउन्सिलले ब्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे नेपाल चेम्बर अफ कमर्स एनसीसीसँग छलफल गरेको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेशकुमार अग्रवालसहितको पदाधिकारी टोली र मलेसिया नेपाल बिजनेश काउन्सिलको प्रतिनिधिमण्डलबीच दुई मुलुक बीचको आर्थिक सम्बन्ध, रोजगारी अभिवृद्धि, थप लगानी विस्तार लगायतका विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो ।

मलेसिया नेपाल बिजनेश काउन्सिलका अध्यक्ष प्रदिपकुमार कुकरेजा सहितको टोलीले नेपाल भ्रमणका क्रममा चेम्बर पदाधिकारीसमक्ष दुईपक्षीय लगानी तथा व्यापार साझेदारीबारे प्रस्ताव राखेका थिए । चेम्बरका अध्यक्ष अग्रवालले नेपाल र मलेशियाबीचको कुटनीतिक सम्वन्ध ६५ वर्ष भन्दा पूरानो रहेको स्मरण गर्दै व्यापार, लगानी अभिवृद्धि तथा रोजगारीको दृष्टिकोणले समेत उत्कृष्ट रहेको बताए ।

नेपालबाट मलेसियामा ५ लाख बढी युवाले रोजगारी पाइरहेको र दुई मलुकबीच सबैभन्दा धेरै हवाई सम्पर्क विस्तार भइरहेको अध्यक्ष अग्रवाल बताउँछन् । नेपाली युवा जनशक्तिले दुवै देशको अर्थतन्त्रमा महत्वपुर्ण योगदान गरेको अध्यक्ष अग्रवालको भनाइ छ । मलेसियासँग नेपालको व्यापार घाटा उच्च रहेकाले यसलाई घटाउनका लागि व्यापार सहजीकरण गर्नुपर्नेमा उनी बताउँछन् ।

अध्यक्ष अग्रवालले नेपालको ऊर्जा, उत्पादनमुलक उद्योग, कृषि, पर्यटन, खानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्न मलेसियाका उद्यमी व्यवसायीलाई आग्रह गरे । नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको भन्दै अध्यक्ष अग्रवालले व्यापार घाटा न्यूनिकरणका लागि नेपाली बस्तुको आयात वृद्धि गर्न आग्रह गरेका छन् ।

चेम्बर पदाधिकारीसँगको भेटमा मलेसिया नेपाल बिजनेश काउन्सिलका अध्यक्ष प्रदिपकुमार कुकरेजाले नेपालको पर्यटकीय क्षेत्रले आफुलाई आकर्षित गरेको बताए । नेपालमा लगानीको सम्भावना देखेर नै आफुहरु आएको र व्यवसायिक वातावरण बनाउनका लागि चेम्बरसँग सहकार्य गर्न लागेको उनले जनाए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.