पोखरा । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीच आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज बिहान ८:३० बजे पोखरास्थित होटल ल्याण्डमार्क, लेकसाइडमा आयोजित एक विशेष समारोहबीच मर्जर समितिका संयोजक सुदिप घिमिरे (समृद्धि फाइनान्स) र तिल बहादुर गुरुङ (पोखरा फाइनान्स) ले संयुक्त रूपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार दुवै संस्थाबीच १:१ को स्वाप अनुपातमा मर्जर हुनेछ। मर्जरपश्चात संस्थाको नाम पोखरा फाइनान्स लिमिटेड नै कायम रहनेछ भने केन्द्रीय कार्यालय काठमाडौंमा रहनेछ । नयाँ संस्थाको सञ्चालक समितिमा समृद्धि फाइनान्सबाट अध्यक्षसहित चारजना र पोखरा फाइनान्सबाट तीनजना रहने सहमति भएको छ ।
दुई संस्थाबीचको मर्जरले सबल, सक्षम र उत्कृष्ट वित्तीय संस्था निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ । नेपाल राष्ट्र बैंकले अघि सारेको मर्जर प्रोत्साहन नीतिसँग मेल खाने यो समझदारीले निजी क्षेत्रका वित्तीय संस्थालाई गाभजोडमा अघि बढ्न थप प्रेरणा दिने अपेक्षा गरिएको छ ।
मर्जरपछि संस्थापक तथा साधारण शेयरधनीहरूको हित सुरक्षित हुने, वित्तीय पहुँच र सेवा प्रवाह थप सशक्त हुने तथा मुलुकको समग्र आर्थिक तथा वित्तीय प्रणालीमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ ।
Comments are closed.