पोखरा चेम्बर अफ कमर्स कास्कीको छैटौं साधारण सभा सम्पन्न

पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीको छैटौं साधारण सभा शनिबार सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्सको ७५ वर्षे हीरक जयन्ती वर्षको अवसरमा चेम्बरले दीर्घायु अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरेको थियो । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्घाटन गरेका थिए ।

मन्त्री बस्यालले हालको आर्थिक मन्दीको अवस्था कसैको रहरले नभई परिस्थितिजन्य भएको उल्लेख गर्दै यस अवस्थाबाट पार पाउन सरकार, निजी क्षेत्र र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए । साथै, उनले आयात प्रतिस्थापनका लागि स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवर्द्धन गर्न सरकारले प्रोत्साहन गरिरहेको बताए। उद्योग व्यवसायको प्रवर्द्धन विना देशको समृद्धि सम्भव छैन भन्ने धारणा राख्दै मन्त्रीले उद्योगी तथा व्यवसायीलाई सहुलियत र ब्याज मिनाहका कार्यक्रम ल्याउन सरकार तत्पर रहेको जानकारी दिए ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले चेम्बरको ७५ वर्षे गौरवशाली यात्राका उपलब्धिहरू प्रस्तुत गर्दै चेम्बर मेला, फुटसल प्रतियोगिता, उद्योगी व्यवसायीसँग अन्तरक्रिया लगायतका कार्यक्रममार्फत व्यवसाय प्रवर्द्धनमा योगदान दिएको बताए ।

कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले खाली गाउँ र बाँझो जमिनमा साना तथा मझौला उद्योग स्थापना नगरी अर्थतन्त्रमा सुधार सम्भव नरहेको बताए। उनले तीन तहका सरकारबीच सहकार्यमा आधारित उद्योग प्रवर्द्धनको आवश्यकता औंल्याए । कास्की प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उद्योगमैत्री वातावरण निर्माण र निजी क्षेत्रलाई शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रशासन तयार रहेको बताउँदै स्थानीय स्रोत र श्रमको उपयोग गरेर उत्पादन बढाउन सुझाव दिइन् ।

गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले उद्योग व्यवसाय प्रवर्द्धनका लागि राज्यका निकायहरूले ठोस नीति निर्माणमा ध्यान दिनुपर्ने धारणा राखे । साथै, उनले नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

कार्यक्रममा संस्थाको तर्फबाट युवा उद्यमी शक्ति पाण्डे, निवर्तमान अध्यक्ष यमनाथ पौडेल, उत्कृष्ट पदाधिकारी सहकोषाध्यक्ष बोधराज सुवेदी, कार्यसमिति सदस्य श्रीराम गौतम, आर्थिक उन्नयनमा योगदान पुर्याउने परमेश्वर दवाडी, महिला चेम्बरको तर्फबाट फेवा इकाइलाई विशेष सम्मान प्रदान गरिएको थियो । साथै, आजीवन सदस्य नानुमाया तिमिल्सिना र दीर्घायु अस्पतालका कार्यकारी निर्देशक राधाकृष्ण पोखरेललाई पनि सम्मान गरियो।

साधारण सभामा पोखरा महानगरपालिका, लेखनाथ उद्योग वाणिज्य संघ, स्याङ्जा चेम्बर अफ कमर्स, महिला उद्यमी मञ्च कास्की लगायतका प्रतिनिधिहरूको उपस्थिति थियो । अन्त्यमा, महासचिव गोकर्ण अधिकारीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र सहकोषाध्यक्ष बोधराज सुवेदीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई आवश्यक सुधारसहित साधारण सभाले पारित गरेको थियो ।

You might also like

Comments are closed.