धार्मिक पर्यटनको सम्भावना बोकेको जलजला ओझेलमा

काठमाडौँ । धार्मिक र पर्यटकीय सम्भावना बोकेको म्याग्दी, पर्वत र कास्कीको सिमानामा रहेको जलजला क्षेत्र पूर्वाधार र प्रचारको अभावमा ओझेलमा परेको छ।

हिन्दू धर्मग्रन्थहरूमा हम्पाल, कालञ्जर र मृगस्थलीका रूपमा उल्लेखित जलजला क्षेत्रलाई ऋषिमुनिहरूको तपोभूमिका रूपमा वर्णन गरिएको छ। यहीं पाइने जडीबुटीहरू औषधीय रूपमा प्रयोग हुने उल्लेख छ। तर, दुर्गम भौगोलिक अवस्थिति, अव्यवस्थित यातायात र प्रचारको कमीले पर्यटकको आगमन न्यून रहेको छ ।

स्थानीय व्यवसायी टीका पुनका अनुसार महायज्ञ तथा शरद र वसन्तयाममा मात्रै भक्तजन आउँछन्, अन्य समय जलजला सुनसान हुने गरेको छ। अन्नपूर्ण, धवलागिरि र माछापुच्छ्रेको दृश्यावलोकन गर्न सकिने जलजला क्षेत्र जैविक विविधताले पनि भरिपूर्ण छ ।

कालीगण्डकी क्षेत्रका अध्येता प्रा.डा. जगन्नाथ रेग्मीका अनुसार जलजलामा प्राचीन मन्दिर, गुफा र ओढार संरक्षणको अभावमा हराउँदै गएका छन्। पर्यटक पूर्वाधारको विकास नहुँदा पौराणिक महत्त्वका बाबजुद यहाँको चिनारी सीमित रहेको उनको भनाइ छ ।

हाल जलजला क्षेत्रसम्म कच्ची सडक पुगेको छ। सङ्घीय सरकारले रु तीन करोडको पर्यटन पूर्वाधार योजना ल्याएको र प्रदेश सरकारले पदमार्ग तथा आश्रयस्थल निर्माण गरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जलजलालाई धार्मिक करिडोरका रूपमा विकास गर्ने योजना अघि सारिएको जानकारी दिए । मुस्ताङ र मुक्तिनाथ जाने तीर्थयात्रीलाई जलजला मार्ग हुँदै लैजाने तयारी भइरहेको उनले बताए ।

You might also like

Comments are closed.