नेपालगञ्ज–दिल्ली सिधा उडानका लागि पहल गर्छु : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँ दिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छन् ।

नेपालगञ्ज दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै सोमबार मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, संघीय संसद्मा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार भएकाहरूसँग मन्त्री राणाले सो प्रतिबद्धता जनाएकी हुन् ।

मन्त्री राणाले भनिन्, ‘सो उडानका लागि मैले पहिलेदेखि नै पहल गरिआएकै छु । नेपालगञ्ज दिल्ली उडानको एजेण्डालाई हामी प्राथमिकतामा राखेका छौँ । यो उडानले नेपाल र भारतलाई नै पारस्परिक लाभ पुग्ने र कनेक्टिभिटी जति बढाउन सक्यौँ त्यति धेरै नेपाललाई फाइदा पुग्ने भएकाले म यो उडानका लागि लागिपर्नेछु ।’

उनले नेपाल र भारतका बीचमा कनेक्टिभिटी बढाउन सक्दा मात्र पर्यटन, पारवहन, उद्योग व्यापार तथा जनसम्पर्क लगायतमा वृद्धि हुने र यसबाट दुवै पक्षलाई लाभ पुग्ने बताइन् । यो उडानले पश्चिम नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने र त्यस क्षेत्रको मुहार नै फेरिने बताउँदै मन्त्री डा.राणाले नेपालगञ्जमा पनि होटल लगायतका आवश्यक पर्यटन पूर्वाधारहरू बनिसकेकाले नेपालगञ्ज दिल्ली उडानका लागि आफू गम्भीरताका साथ लाग्ने बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यस विषयलाई प्राथमिकताको एजेण्डाका रूपमा समावेश गरिदिन बाँके र बर्दियाका उद्योगी व्यवसायी तथा राजनीतिक दलसहितको सर्वपक्षीय टोलीले आज मन्त्री डा.राणालाई भेटेर सो आग्रह गरेको हो ।

You might also like

Comments are closed.