म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको छ । रघुगंगामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका ५ जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको हो ।
गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र र मौवाफाँटदेखि झिँ, पाखापानी, दग्नाम, चिमखोला र कुइनेमंगले जोड्ने सडकको अप्ठ्यारो ठाउँमा ढलान गर्न थालिएको जानकारी दिए ।
गाउँपालिकाको संयोजनमा गत फागुन र चैत महिनामा भएको राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधि समेतको छलफलमा जलविद्युत् आयोजनाले जनाएको पहुँच मार्गको रूपमा प्रयोग गरेको सडक स्तरोन्नति गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न थालेका उनले बताए ।
आयोजनाहरुले प्रयोग गरेको सडक स्तरोन्नतिमा बेवास्ता, सामाजिक उत्तरदायित्वको रकम र खर्चको विवरण सार्वजनिक नगरेपछि जनप्रतिनिधि र स्थानीयवासीले आन्दोलन गरेका थिए । रघुगंगामा ३५ दशमलव ५ मेगावाट क्षमताको चिमखोला– राहुघाट–मंगले र २१ दशमलव ३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजना निर्माण सकिएको छ ।
४० मेगावाट क्षमताको राहुघाट, २२ दशमलव ५ मेगावाटको ठूलोखोला ‘ए’ र ४८ दशमलव ५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । अध्यक्ष भण्डारीका अनुसार अपर राहुघाट र चिमखोला–मंगले–राहुघाटको प्रवद्र्धक तुँदी पावरले मौवाफाँट–दग्नाम खण्डमा रु. १ करोड ५० लाख खर्चेर विभिन्न ठाउँमा ढलान गरेको छ ।
“तुदी पावरले थप रु. २५÷२५ लाखमा मौवाफाँट हुँदै झिँ र पाखापानी जोड्ने सडक स्तरोन्नतिको तयारी गरेको छ,” गाउँपालिकाका अध्यक्ष भण्डारीले भने “तुदी पवार, ठूलोखोला र माथिल्लो ठूलोखोला (ए)को रु. ६७ लाख सहयोगमा दवाङ र अजिंगर भिरको साँघुरो सडक फराकिलो पारेर ढलान हुँदैछ् ।”
चिमखोला– मंगले– राहुघाट, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले रु. ८० लाख खर्चेर रघुगंगा गाउँपालिका–७ चिमखोला गाउँको फेदी भएर बग्ने बगर खोलाको कटान र बाढी नियन्त्रणका लागि करिब एक सय ५० मिटर दुरीमा तटबन्ध गरेका छन् ।
बगर खोलामा आउने बाढीले कटान गरेर करिब दुई सय घरपरिवारको बसोबास रहेको चिमखोला गाउँ, रघुगंगा गाउँपालिका–७ र ८ नम्बर वडा जोड्ने सडक जोखिममा परेको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले रु १० करोड खर्चेर बेनी–जोमसोम सडकको घुमाउने तालदेखि पिप्ले–मौवाफाँट–बुक्ल–बाँधस्थल खण्डको सडक स्तरोन्नति थालेको अध्यक्ष भण्डारीले बताए ।
सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले रघुगंगा हाइड्रोपावरसँग गरेको सम्झौता अनुसार ११ किलोमिटर पहुँच मार्ग सहायक ठेकेदार परिचालन गरेर ग्राभेल गर्न पूर्वाधार निर्माण थालेको हो । यस अन्तर्गत पिप्लेको हमाल चोकदेखि रघुगंगा मावि मुनिसम्मको सडक पनि स्तरोन्नति हुने अध्यक्ष भण्डारी बताउँछन् ।
ग्राभेल गरेपछि घुमाउने तालदेखि मौवाफाँटसम्म रघुगंगा हाइड्रोपावरको ८० र अन्य ४ वटा जलविद्युत् आयोजनाको २० प्रतिशत लगानीमा कालोपत्र गर्ने सहमति भएको गाउँपालिकाले जनाएको छ ।
Comments are closed.