रामपुर नगरपालिकाको आयोजनामा खुल्ला मौलिक तीज गीत प्रतियोगिता सम्पन्न

रामपुर (पाल्पा) । हरितालिका तीज पर्वको अवसरमा पाल्पाको रामपुर नगरपालिकाले उप–प्रमुख तीज विशेष कार्यक्रम अन्तर्गत खुल्ला मौलिक तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । नगरपालिकाको प्राङ्गणमा भएको प्रतियोगितामा १५ वटा विभिन्न संघसंस्था तथा समूहबाट नगरभित्रका दिदी बहिनीले सहभागीता जनाए थिए ।

प्रतियोगितामा रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय रामपुर ५ पाल्पाको अनिसा रानाको समूह प्रथम, नेपाल विद्यार्थी संघ शहीद बहुमुखी क्याम्पस शशी ढकालको समूह द्वितिय, क्षेत्री समाज रामपुरको समूह तृतीय र नव दुर्गा आमा समूह रामपुर ३ दुर्गा भट्टराईको समूह सान्त्वना भएको निर्णायक मण्डलका संयोजक लखनाथ शर्मा मरासिनीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुन सफल समुहलाई क्रमशः नगद ३० हजार, २० हजार, १० हजार र ५ हजासहित प्रमाण पत्र प्रदान गरिएको छ । विजेता समूहलाई राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटा, रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापा र उपप्रमुख बालकुमारी थापाले पुस्कार प्रदान गरेका हुन् ।

प्रतियोगितामा सहभागीहरुले गीतमार्फत नगरको वर्तमान अवस्था, सम्भावना तथा विकासका कार्यलाई गति दिन चाल्नुपर्ने कदम, नागरिकको भुमिकासहित महिला अधिकार, नारीको वेदना, महिलाहिंसा, वैदेशिक रोजगारले समाजमा देखिएका समस्या लगायतका विषयवस्तु प्रस्तुत गरेका थिए । प्रतियोगिताको राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटाले उद्घाटन गर्दै वर्तमान संविधानले कुनै पनि विभेद नगरेको बताइन् । अधिकार सम्पन्न हुँदाहुँदै पनि केही पुरुषहरुले धर्म छाड्दै गर्दा महिलाहरु विभेदमा परेको उनी बताउँछिन् ।

‘विगतमा पुरुषहरुले आफ्नो अनुकुल कानुन निर्माण गरेकाले महिलाहरु पछि परेपनि वर्तमान संविधान र व्यवस्थाले महिलालाई अधिकार सम्पन्न बनाएको छ’ उनले भनिन् । यो वर्तमान व्यवस्थालाई फेल हुन दिन नहुने बताउँदै उनी भन्छिन्, ‘यो व्यवस्था अत्यन्तै राम्रो छ । संघियताकै कारण जनताको घरदैलोमा सिंहदरबार आएको छ ।’ धर्म, संस्कार संस्कृतिलाई कहिल्यै भुल्न नहुने उनको धारणा छ ।

नगर प्रमुख रमणबहादुर थापाले विश्वमै शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकीको संरक्षण गर्नु आवश्यक रहेको बताए । कालीगण्डकी र शालिग्रामको संरक्षणका लागि डाईभर्सनको विरुद्धमा स्थानीय जनताको साथमा रहेर सदनमा आवाज उठाउँदै आएको र निरन्तर रुपमा लागि रहने समेत प्रतिवद्धता उनी बताउँछन् ।

कार्यक्रममा नगरपालिकाका निवर्तमान उपप्रमुख एवं सल्लाहकार विष्णुदेवि घिमिरे आचार्यले महिलाहरु संगठित भएर विगतमा गरेको संघर्षले वर्तमान उपलब्धी प्राप्त बताउँदै यसलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । जनताको सुझाव र प्रतिक्रियाले जनप्रतिनिधि र स्थानीय सरकारलाई जागरुक बनाउन सहयोग गर्ने उनले उल्लेख गरिन् । नगरपालिकाका सल्लाहकार विष्णुमाया ढकालले महिलाहरुलाई आर्थिक र सामाजिक रुपमा सक्षम बनाउन सके मात्र मुलुकको विकासले गति लिने बताइन् ।

कार्यक्रममा नेपाल महिला संघ रामपुरका उपाध्यक्ष सावित्रा गैरे, अखिल नेपाल महिला संघ रामपुरका उपाध्यक्ष राधिका भण्डारीले आफ्नो धारणा राखिन् । नगर उपप्रमुख बालकुमारी थापाले तीजको मौलिकपनलाई जीवन्त राख्न कार्यक्रम आयोजना गरिएको बताइन् ।

तीजको मौलिक भाका संरक्षणसंगै पर्वको नाममा भित्रिएका विकृतिलाई हटाउन सचेतनाका लागि कार्यक्रम गर्दै आएको जानकारी दिए । उपप्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रम नगर कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतमको स्वागतबाट सुरु भएको हो ।

कार्यक्रमको सञ्चालन नगरपालिका न्यायिक समितिका सचिव पार्वती परियार र महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले गरिन् । कार्यक्रमको अवसरमा साविक गजरकोट नेवास् समूहको लाखेनाच समेत प्रदर्शन गरिएको थियो ।

You might also like

Comments are closed.