काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले आफ्नो इन्टरनेट तथा viaTV सेवा सामान्य स्तरमा फर्किएको जनाएको छ । कम्पनीका अनुसार सेवा अझै पूर्ण क्षमतामा नभए पनि अधिकांश ग्राहकहरूले सेवा प्रयोग गर्न सक्ने अवस्थासम्म पुगेको छ। बाँकी सर्भरहरू अर्को डाटा सेन्टरमा सार्ने काम सकिएपछि आगामी २९ भदौ २०८२भित्र सेवा पूर्ण रूपमा सामान्य हुने अपेक्षा गरिएको छ।
भायानेटका अनुसार अहिले ग्राहक मोबाइल एप पुनः पूर्ण रूपमा काम गरिरहेको छ भने कम्पनीको कल सेन्टर पनि बढेको क्षमतासहित सञ्चालनमा आएको छ, जसले प्रयोगकर्तालाई छिटो सहयोग पुर्याउन सहयोग गर्नेछ।
हालैको घटनामा बिग्रिएका अधिकांश फाइबर लाइनहरू फाइबर टेक्निसियनहरूले दिनरात खटिएर मर्मत गरिसकेका छन्। कम्पनीले ठूलो र अप्रत्याशित चुनौतीबीच पनि ४८ घण्टाभित्र सेवा सामान्य स्तरमा ल्याउन सफल भएको जनाएको छ। यसले नेटवर्कको मजबुती र टिमको समर्पणलाई देखाएको कम्पनीको भनाइ छ।
कम्पनीले ग्राहकहरूले देखाएको धैर्य, बुझाइ र विश्वासप्रति धन्यवाद दिंदै आगामी दिनमा अझ सुरक्षित र गुणस्तरीय सेवा दिन निरन्तर प्रतिबद्ध रहने जनाएको छ।
Comments are closed.