जेन्जी आन्दोलनका कारण दुई अर्बभन्दा बढी बीमा भुक्तानी

काठमाडौं । जेन्जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको रकम दुई अर्बभन्दा बढी पुगेको छ। बीमा कम्पनीहरूले हालसम्म २ अर्ब १ करोड ९८ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी गरेका छन् ।

बीमा प्राधिकरणका अनुसार हालसम्म १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा ३ हजार १६६ वटा बीमा दाबी दर्ता भएका छन् । ती दाबीहरूको कूल रकम २३ अर्ब २० करोड ९१ लाख रुपैयाँ रहेको छ ।

आन्दोलनका क्रममा भएका भौतिक क्षति, आगलागी, तोडफोड र अन्य आर्थिक नोक्सानीको बीमा मूल्याङ्कन तथा अनुगमनका लागि २ हजार ७९१ वटा दाबीमा सर्भेवर खटाइएका थिए । तीमध्ये हालसम्म ६५४ वटा सर्भे प्रतिवेदन पेश भइसकेका छन् ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूबाट २ हजार ७३३ वटा पुनर्बीमा दाबी दर्ता भएका छन् । ती दाबीहरूको कूल रकम करिब १५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ रहेको छ । पुनर्बीमा कम्पनीले हालसम्ममा करिब १ अर्ब ६३ करोड ३५ लाख रुपैयाँ अग्रिम ९पेस्की० भुक्तानी निर्जीवन बीमा कम्पनीहरूलाई प्रदान गरेको जनाएको छ ।

बीमा प्राधिकरणका अनुसार बाँकी दाबीहरूको मूल्याङ्कन र भुक्तानी प्रक्रिया क्रमशः अगाडि बढाइँदैछ । प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई दाबी निस्तारणको प्रक्रिया छिटो पार्न निर्देशन पनि दिएको छ ।

You might also like

Comments are closed.