रामपुर नगरपालिकामा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको अन्तिम तयारी हुँदै

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाले ज्येष्ठ नागरिक स्कुल सञ्चालन गर्ने भएको छ । ज्येष्ठ नागरिकका लागि सञ्चालन गरिने रामपुर ज्येष्ठ नागरिक स्कुल व्यवस्थापनका विभिन्न कामहरु भइरहेको छ ।

यसै आर्थिक वर्ष देखि ज्येष्ठ नागरिक स्कुल सञ्चालन गर्ने र सञ्चालनको अन्तिम तयारी भइरहेको छ । रामपुर नगरपालिका वडा नं.५ रामघाटमा सञ्चालन गरिने ज्येष्ठ नागरिक स्कुलको भवन निर्माण तथा व्यवस्थापन सकिएको छ भने ज्येष्ठ नागरिकलाई स्कुलसम्म आवतजावत गर्नका लागि बस खरिद गरी बसको व्यवस्था गरिएको छ भने व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि व्यवस्थापन समिति गठन गरेको छ ।

रामपुर ज्येष्ठ नागरिक स्कुल सञ्चालनका लागि बुद्धिप्रकाश रेग्मीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालन समिति गठन गरेको छ । जसको उपाध्यक्षमा मिनराज रेग्मी, कोषाध्यक्षमा चन्द्रा न्यौपाने, सहसचिव सुरज गौतम, सदस्यमा दुर्गाप्रसाद पोखरेल, सुन्दरप्रसाद देवकोटा, कृष्णप्रसाद अर्याल, फत्तबहादुर मल्ल, चन्द्रबहादुर राना, देविका गहतराज र सदस्य सचिवमा प्रविन तिमिल्सिना रहेका छन् ।

नवगठित समितिलाई बधाइ दिँदै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले ज्येष्ठ नागरिकको भावनालाई बुझेर ज्येष्ठ नागरिकमैत्री रुपमा सञ्चालन गर्न आग्रह गरे । यसका लागि स्कुलभित्र गरिने व्यवहारमा ध्यान दिनुपर्ने उनी बताउँछन् ।

संस्कृतिको संरक्षणसंगै उमेर पुगेका नागरिकको सम्मानसहितको सक्रिय जीवन निर्वाहका लागि स्कुल सञ्चालन गर्न लागिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । विषेशगरी दिउँसोको समयमा ज्येष्ठ नागरिकलाई स्कुलसम्म ल्याइने र पुराना संस्कार र संस्कृतिबारे नयाँ पुस्ताले अध्ययन गर्न पाउने व्यवस्था गरिने नगर प्रमुख थापाको भनाइ छ ।

“स्कुसम्म आउनका लागि नगरपालिकाले बस खरिद गरिसकेको छ, ज्येष्ठ नागरिकलाई दिउँसोको समयमा स्कुलमा ल्याइन्छ, ज्येष्ठ नागरिक स्कुलमा उहाँहरुबाट हाम्रा लोप हुन लागेका संस्कार संस्कृति चालचलनबारे अध्ययन गर्न सकिन्छ” उनले भने । नगरपालिका भित्रका सबै विद्यालयलाई क्रमश ज्येष्ठ नागरिक स्कुलमा अध्ययन अवलोकनको व्यवस्था गरिने जानकारी दिए ।

ज्येष्ठ नागरिक स्कुलले संस्कार संस्कृतिको संरक्षण र पुस्तान्तरणमा टेवा पुग्ने उनी बताउँछन् । ज्येष्ठ नागरिक स्कुलमा विभिन्न धार्मिक प्रवचन, भजनकृतन, विभिन्न घरेलु सामग्री र यसको प्रयोग, ज्येष्ठ नागरिकका लागि दिवा खाजा, स्वास्थ्य परिक्षणसहित सन्ध्या आरतीको व्यवस्था गरिने रामपुर नगरपालिकाले जनाएको छ ।

 

You might also like

Comments are closed.