काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) का प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल दिगो र जिम्मेवार पर्यटन विकासप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
लन्डनको एक्सेल लन्डनमा आयोजित विश्वकै प्रतिष्ठित पर्यटन प्रदर्शनी ‘वर्ल्ड टुरिज्म मार्केट डब्ल्यूटीएम २०२५’ का अवसरमा ‘सस्टेनेबल सिफ्टस् स् ट्रान्सफर्मिङ टुरिजम् थ्रु अ सर्कुलर इकोनमी’ शीर्षकमा भएको छलफल सत्रमा सहभागी हुँदै सीईओ जोशीले नेपालले दिगोपनलाई सतही हरित कार्यक्रममा सीमित नराखी प्रणालीगत रूपान्तरण तर्फ अघि बढिरहेको उल्लेख गरे ।
उनका अनुसार नेपालले पर्वतीय तथा ग्रामीण पर्यटन क्षेत्रमा सामुदायिक सहभागिता, वातावरणीय उत्तरदायित्व र आर्थिक समावेशितामार्फत दिगोपनको अभ्यासलाई प्रभावकारी बनाउँदै आएको छ ।
सीईओ जोशीले भने, “नेपाल अब केवल हरित पहलमा सीमित छैन, हामी वातावरणीय संरक्षण, स्थानीय सशक्तिकरण र व्यावसायिक दिगोपनबीच सन्तुलन कायम गर्दै दीर्घकालीन समाधानतर्फ अघि बढिरहेका छौं । यस यात्रामा नेपाल पूर्ण रूपमा प्रतिबद्ध छ।”
छलफलमा विश्व पर्यटन क्षेत्रले सर्कुलर इकोनमी को अवधारणा अंगालेर स्रोतहरूको पुनःप्रयोग, फोहोर न्यूनिकरण, न्यून–कार्बन यातायात प्रवर्द्धन, र स्थानीय समुदायलाई समान लाभ पुग्ने मोडेल कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा व्यापक बहस भयो ।
ट्रोभ टुरिज्म डेभलपमेन्टद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न देशका पर्यटन विशेषज्ञ, उद्योग संचालक तथा नीति–निर्माताहरू सहभागी थिए ।
सत्रमा उदीयमान पर्यटन बजारहरूले भोगिरहेका चुनौती, कमजोर पूर्वाधारयुक्त गन्तव्यमा न्यून–कार्बन गतिशीलता, लगानी तथा सीप अभाव, र नीतिगत असन्तुलनका कारण दिगो पर्यटन विस्तारमा आएका अवरोधका विषयमा पनि छलफल गरियो ।
सहभागीहरूले अब पर्यटन क्षेत्र ‘हरित’ ब्रान्डिङ वा प्रचारमा सीमित रहने समय समाप्त भएको उल्लेख गर्दै वास्तविक, मापनयोग्य र दीर्घकालीन प्रभाव पार्ने परिवर्तन अनिवार्य रहेको निष्कर्ष निकाले ।








Comments are closed.