पाल्पाली सहकारीको सातौं वार्षिक साधारणसभा सम्पन्न

पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखराको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभा उद्घाटन गर्दै पाल्पाली अग्रज व्यक्तित्व जनपुकार मुनकर्मीले देश–विदेशमा पाल्पाली जहाँ बसे पनि इज्जत र सानका साथ बस्ने गरेको बताए । उनले पाल्पाली समाज पोखरासँँगै पोखरामा सहकारी, पाल्पा हाउस र पाल्पाली कोलोनी स्थापना भएकाले आपसी सहकार्यमा अझै प्रगति गर्दै जानुपर्ने सुझाव दिए ।

संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरे । सो अवसरमा उनले आगामी आव २०८२/०८३ का लागि विभिन्न प्रस्ताव पेस गरेका थिए । सहकारीको आगामी कार्यकाल १० बाट घटाएर ९ मा बनाउने प्रस्तावलगायत प्रस्ताव साधारणसभाले पारित गरेको छ । लेखा सुपरीवेक्षण समिति संयोजक सुनिल अर्यालले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष उमा सापकोटाले कोषाध्यक्षको प्रतिवेदन पेस गरे ।

कार्यक्रममा पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुली, संस्थाका सल्लाहकार एवं लेखा सुपरीवेक्षण समितिका निवर्तमान संयोजक नारायणप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरे । सहकारी उपाध्यक्ष बाबुराम खनालले स्वागत मन्तव्य तथा सहकारीका ७ सिद्धान्त वाचन शिक्षा समिति संयोजक पदमप्रसाद पोखरेलले र कार्यक्रम सञ्चालन सचिव रेशमराज थापाले गरेका हुन् ।

कार्यक्रममा गत वर्षको एसइईमा उत्तीर्ण शेयर सदस्यका छोराछोरीहरुतर्फ अनिता पोखरेल, सभ्य मल्ल, आयाम कोइराला, जोयल विश्वकर्मा र सविन रानालाई सम्मान गरिएको छ । सहकारीका उत्कृष्ट कर्मचारीतर्फ सुस्मिता सेनलाई खादा, माला, दोसल्ला र सम्मानपत्रसहित सम्मान, उत्कृष्ट बचत कारोबार गर्ने भीमदेव शर्मा ढुंगाना र उत्कृष्ट कारोबार गर्ने समिता अधिकारीलाई पनि सम्मान गरिएको छ ।

सोही अवसरमा अघिल्लो वर्ष उत्कृष्ट बचत गरेर सम्मानित भएका कमल नेपाललाई प्रशंसापत्र हस्तान्तरण गरिएको सहकारीले बताएको छ ।
सहकारीको शेयर पुँजी २ करोड ६१ लाख तथा बचत २ करोड २४ लाख छ । सहकारीमा हाल ५३७ सदस्य छन् भने कार्यक्षेत्र पोखराभर हो ।

You might also like

Comments are closed.