रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा आधारभूत सहकारी लेखा व्यवस्थापन सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ । रामपुर नगरपालिका सहकारी शाखाको आयोजनामा भएको तालिमको सोमबार समापन गरिएको छ ।
नगरपालिका भित्रका २१ वटा सहकारी संस्थाहरुलाई लेखा व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको हो । नगरभित्र सञ्चालित सहकारी संस्थाहरुको लेखालाई पारदर्शी र व्यवस्थित बनाउनका लागि संस्थाका व्यवस्थापक र लेखा समितिलाई लेखा सम्बन्धी ज्ञान सीप प्रदान गरिएको छ ।
तालिममा सहकारीको लेखा व्यवस्थापन, हिसाब परीक्षा सूची, नाफा नोक्सान कोष बाँडफाँड, सहकारीमा कर दायित्व लगायतका विषयमा सहजिकरण गरिएको हो । तालिममा सहभागिलाई प्रमाण पत्र वितरण गर्दै रामपुर नगरपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलले तालिममा सिकेका ज्ञान सीपको माध्यमबाट सहकारीको नीति, सिद्धान्त र उद्देश्य अनुरुप सञ्चालन गर्न आग्रह गरेका छन् ।
हरेक सहकारीले आर्थिक र समाजिक दायित्व पुरा गरी पारदर्शी रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । साथै सहकारीलाई समस्या पर्दा सहकारीबीच पारस्परिक सहयोग गरेर अगाडि बढ्न आग्रह समेत गरे । नगरपालिकाका सहकारी शाखा प्रमुख गणेशप्रसाद रेग्मीले सहकारी संस्थालाई व्यवस्थित र उद्देश्य अनुरुप सञ्चालन गर्न टेवा पु¥याउने उद्देश्यले तालिमको आयोजना गरेको बताए । तालिममा सिकेका ज्ञान सीपलाई सहकारी सञ्चालनको क्रममा व्यवहारमा उतार्न उनले आग्रह गरे ।
तालिम समापनको अवसरमा रामपुर बचत तथा ऋण सहकारी संस्थाका लेखा समिति सदस्य राधिका भण्डारीले सहकारीलाई उद्देश्य अनुरुप सञ्चालन गर्न यस्ता तालिम कर्मचारी, सञ्चालक समिति र शेयर सदस्यलाई पनि आवश्यक रहेको बताइन् । नवज्योति बचत तथा ऋण सहकारी संस्था रामपुर–८ पाल्पाका व्यवस्थापक यमबहादुर परियारले सहकारी संस्थाको सही लेखा व्यवस्थापनका लागि तालिम लाभदायी बनेको भन्दै नगरपालिकालाई धन्यवाद दिए ।
रामपुर नगरपालिकाभित्र सञ्चालित २१ वटा सहकारीका ४१ जनाको सहभागिता रहेको तालिमको सहजिकरण तथा सञ्चालन सहकारी शाखा प्रमुख गणेशप्रसाद रेग्मीले गरेका हुन् । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलको अध्यक्षतामा भएको हो ।








Comments are closed.