खेल पर्यटन प्रवर्द्धनका लागि एनपीएल–२ मा पर्यटन बोर्ड र क्यानबीच समझदारी

काठमाडौं । नेपालमा खेल पर्यटनलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित नेपाल पर्यटन बोर्ड (एनटीबी) र क्रिकेट संघ नेपाल (क्यान) बीच नेपाल प्रिमियर लिग–२ (एनपीएल–२) को प्रवर्द्धनका लागि औपचारिक समझदारी भएको छ । यस सहकार्यमार्फत एनपीएल–२ लाई नेपालको क्रिकेट र खेलकुद पर्यटन विकासको प्रमुख आधारका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ ।

सम्झौताअनुसार नेपाल पर्यटन बोर्डले एनपीएल–२ को ब्रान्डिङ, प्रचार–प्रसार तथा अन्तर्राष्ट्रिय पहुँच विस्तारमा सक्रिय भूमिका निर्वाह गर्नेछ ।  छोटो समयमै विश्वसनीय फ्रेन्चाइज क्रिकेट लिगका रूपमा पहिचान बनाएको एनपीएल–२ लाई विदेशी खेलाडी, क्रिकेट प्रेमी, टिप्पणीकार तथा खेल पर्यटनमा रुचि राख्ने पर्यटक आकर्षित गर्ने प्रभावकारी माध्यमका रूपमा हेरिएको छ ।

बोर्डका अधिकारीहरूका अनुसार नेपाल अब क्रिकेटजस्ता ठूला अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न सक्ने ‘स्पोर्ट्स हब’ का रूपमा उभिँदै गएको छ । यस्तै, एनपीएल–२ को सफल आयोजनाले नेपालमा खेल पर्यटनको दिगो विकासमा क्रिकेटलाई केन्द्रमा ल्याउने अपेक्षा गरिएको छ ।

एनपीएल–२ को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गरिनेछ, जसले विश्वभरका करोडौँ दर्शकसम्म नेपालको क्रिकेट, पर्यटन सम्भावना तथा प्राकृतिक–सांस्कृतिक गन्तव्यहरूको पहुँच बढाउने बोर्डको विश्वास छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले एनपीएल–२ लाई “नेपाललाई विश्वमञ्चमा स्थापित गर्ने ठूलो अवसर” भन्दै खेल पर्यटनको नयाँ आयाम खुल्ने उल्लेख गरे । उनका अनुसार देशभर बढ्दो खेल गतिविधिले नेपाललाई आकर्षक खेलकुद गन्तव्यका रूपमा अघि बढाइरहेको छ ।

क्यानका महासचिव पारस खड्काले पनि यस सहकार्यलाई ऐतिहासिक अवसरका रूपमा उल्लेख गर्दै भने, “खेलकुद र पर्यटन दुवै सेग्मेन्टलाई एकसाथ अघि बढाउन पर्यटन बोर्डसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ । नेपालमा क्रिकेटको बढ्दो लोकप्रियताले देशको अन्तर्राष्ट्रिय छवि उजागर गरिरहेको छ र एनपीएल–२ यसलाई अझ उचाइमा पुर्‍याउनेछ ।”

अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता, विश्वस्तरका कमेन्टेटर तथा अत्याधुनिक प्रसारणसहित एनपीएल–२ ले नेपालले विश्वस्तरका खेल प्रतियोगिता आयोजना गर्ने क्षमता प्रमाणित गर्ने अपेक्षा गरिएको छ । पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार फ्रेन्चाइज खेलकुदमार्फत नेपालमा पर्यटनका नयाँ अवसरहरू विकास हुने, विविधता बढ्ने र नेपाललाई ‘स्पोर्ट्स टुरिजम डेस्टिनेशन’ का रूपमा स्थापित गर्न मद्दत पुग्नेछ ।

एनपीएल–२ को सफलतासँगै नेपालले खेल पर्यटनमा आफ्नो पहिचान सुदृढ गर्दै मनमोहक गन्तव्य, साहसिक गतिविधि र सांस्कृतिक समृद्धिलाई विश्व समुदायसम्म प्रभावकारी रूपमा प्रस्तुति गर्ने लक्ष्य राखेको छ ।

You might also like

Comments are closed.