धार्मिक महत्वसँगै अर्थतन्त्रलाई सुधार गरेको रुद्राक्ष

मनोज कुमार चापागाईं, अध्यक्ष,रुद्राक्ष ब्यावसायी संघ, केन्द्रीय कार्यसमिति

नेपालको पूर्वी पहाडी भेगको एक महत्त्वपूर्ण उपज रुद्राक्ष, धार्मिक आस्था, वातावरणीय महत्त्व र अर्थतन्त्रको बलियो आधारका रूपमा स्थापित छ । यसलाई साक्षात् भगवान् शिवको आँसुको रूपमा लिने धार्मिक मान्यता र वैज्ञानिक रूपमा वातावरणलाई शुद्ध राख्ने तथा प्रशस्त मात्रामा अक्सिजन उत्सर्जन गर्ने क्षमताले यसको बहुआयामिक महत्त्व पुष्टि गर्छ ।

भोजपुरको दिङ्ला (हाल षडानन्द नगरपालिका) मा श्री १०८ आवाहाल बृम्हचारी गुरु षडानन्द अधिकारीले १०८ प्रजातिका बिरुवा लगाउने क्रममा रुद्राक्षको सुरुवात गर्नुभएको ऐतिहासिक विश्वास छ ।

शुरुआती चरणमा नेपाली धार्मिक व्यक्तिहरू र भारतबाट आउने जोगी, सन्यासीहरूलाई निःशुल्क दान दिइने रुद्राक्षलाई पछि भारतीय जोगी सन्यासीहरूले केही रकम दिएर खरिद गर्न थालेपछि यसको व्यावसायिक यात्रा प्रारम्भ भएको मानिन्छ ।

भोजपुर दिङ्लाका स्व. टीका प्रसाद चापागाईं, स्व. गोबिन्द बहादुर बस्नेत, मान बहादुर रोकाय र संखुवासभाका गर्जमान जस्ता अग्रजहरूको प्रयासले यो पेसाले व्यावसायिक स्वरूप लियो र भारतसहित अन्य देशहरूमा निर्यात भई अन्तर्राष्ट्रियकरण भयो ।

आज रुद्राक्षको खेती भोजपुर, संखुवासभा, धनकुटा लगायत ४५ भन्दा बढी जिल्लाहरूमा विस्तार भएको छ, जहाँ किसानहरूले आफ्नो दर्ता कायम रहेको निजी जग्गामा व्यावसायिक खेती गर्दै आएका छन् । यस कृषि व्यवसायमा एक लाखभन्दा बढी कृषक र पाँच हजारभन्दा बढी व्यवसायी प्रत्यक्ष रूपमा संलग्न छन् ।

ग्रामीण भेगका अधिकांश कृषक तथा व्यवसायीहरू यस पेसाबाट लाभान्वित हुँदै आएका छन् । रुद्राक्ष व्यवसायले नेपाललाई अरबौं विदेशी मुद्रा आर्जन गर्न सहयोग पु¥याएको छ र दशौं हजार मानिसलाई रोजगारीको अवसर प्रदान गरेको छ ।

विदेशी मुद्रा आर्जनको यो महत्त्वपूर्ण स्रोत भए पनि रुद्राक्ष व्यवसायले नीतिगत र कार्यान्वयनगत तहमा गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । रुद्राक्ष व्यवसायको सबैभन्दा ठूलो समस्या भनेको कृषकले दर्ता श्रेस्ता कायम रहेको, तिरो तिरान गरेको आफ्नो नम्बरी जग्गामा उत्पादन गरेको वस्तुलाई पनि वन पैदावारको रूपमा राखी विभिन्न कानुनी अल्झनको शिकार हुनु हो ।

रुद्राक्ष व्यवसायी सङ्घले यस समस्याको समाधानका लागि तीनै तहका सरकार समक्ष पहल गर्दा सैद्धान्तिक रूपमा कृषि उपज सरहको कानुनी मान्यता दिइए पनि व्यावहारिक कार्यान्वयनमा कठिनाइ भइरहेको छ । यसकारण, सङ्घले रुद्राक्षलाई पूर्ण रूपमा कानुनतः कृषिमा समायोजन गरिनुपर्ने माग सहित आन्दोलनमा उत्रिएको छ ।

बजारसम्म ओसारपसार र बेचबिखनका क्रममा प्रहरी प्रशासन र वन कार्यालयबाट अनावश्यक कानुनी झमेला दिइने गतिविधिले किसान तथा व्यवसायीहरू हतोत्साहित भएका छन्, जसलाई तत्काल रोकी प्रोत्साहनको वातावरण बनाउन जरुरी छ ।

किसानहरूमा उत्पादन पछिको सङ्कलन, प्रशोधन, आधुनिक सफाइ तथा धोइपखाली गर्ने जस्ता नयाँ प्रविधिको पहुँच पुग्न सकेको छैन । यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा गुणस्तरको आधारमा प्रतिस्पर्धा गर्न समस्या देखिएको छ ।

रुद्राक्षको गुणस्तर परीक्षणका लागि ल्याब टेस्ट सुविधा, कृषकलाई तालिम, प्राविधिक ज्ञान, मल, बीउ, अनुदान, बैंक लोन र व्यावसायिक ऋण लिन कठिनाइ छ । यद्यपि, सङ्घको पहलमा रुद्राक्षलाई भ्याट नलाग्ने सूचीमा राखिएको छ र आन्तरिक राजस्व किताबमा ’वस्तु कोड’ लेखनको प्रक्रियामा रहेको छ, जसले भविष्यमा वित्तीय सहजीकरणमा सहयोग पुग्ने देखिन्छ ।

ठूलो, सुन्दर र बढी मुखीको रुद्राक्षले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाउने भए पनि साना र सामान्य प्रकारका दानाहरूले तत्काल बजार पाउन गाह्रो छ, जसले गर्दा कृषकको टिपन, टापन र भण्डारण खर्च समेत नउठ्ने अवस्था छ ।

यस समस्याको समाधानका लागि रुद्राक्षको सानो दानाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग भइआएका हस्तकला सामग्री, पूजा सामग्री, ब्रेसलेट, माला, झोला, सिट कभर, पर्दा, शिव लिङ्ग, खेलौना र सजावटी सामाग्री जस्ता वस्तुहरू उत्पादन गर्न सकिन्छ ।

तर, यस्ता वस्तुहरू उत्पादन गर्ने दक्ष जनशक्तिको अभाव छ, जसले गर्दा अरबौं विदेशी मुद्रा आर्जनको अवसर गुमाइरहेका छौं । उक्त कार्यका लागि तत्काल सीपमूलक तालिमहरू सञ्चालन गरी दक्ष जनशक्ति तयार गर्नु अति आवश्यक देखिन्छ ।

रुद्राक्ष व्यवसाय नेपालको ग्रामीण अर्थतन्त्र र विदेशी मुद्रा आर्जनको प्रमुख आधार हो। यसको व्यावसायिक सम्भावनालाई अधिकतम उपयोग गर्न, कानुनी अवरोधहरूलाई पूर्ण रूपमा हटाई कृषि उपजको मान्यता दिनु, प्रशोधन, प्रविधि र वित्तीय पहुँच बढाउनु, र साना दानाहरूको मूल्य शृङ्खला विकास गर्नका लागि सीपमूलक तालिम र बजार विविधीकरणमा लगानी गर्नु आजको अपरिहार्य आवश्यकता हो ।

यसो गर्न सकेमा मात्र कृषक र व्यवसायी प्रोत्साहित हुनेछन् र रुद्राक्ष व्यवसायले नेपालको अर्थतन्त्रमा अझ ठूलो र दिगो योगदान दिन सक्नेछ ।

You might also like

Comments are closed.