अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने सडक महोत्सवले पछिल्ला वर्षहरूमा नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । “अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा जानुपर्छ” भन्ने धारणा स्वदेशी मात्र होइन, विदेशी पर्यटकहरू माझ पनि स्थापित हुँदै गएको छ । यही विश्वास र आकर्षणका कारण नयाँ वर्षको समयमा पोखरा पर्यटकले खचाखच भरिने गर्दछ । यो महोत्सवले पर्यटन प्रवद्र्धनसँगै स्थानीय अर्थतन्त्रलाई पनि सशक्त बनाउँदै आएको छ । स्थानीयस्तरमा उत्पादन गरिएका हस्तकला, मौलिक सामग्री, परम्परागत पोशाक र घरेलु उत्पादनको बजारीकरण तथा प्रवद्र्धनमा सडक महोत्सवले प्रभावकारी भूमिका खेलेको छ । यसले साना व्यवसायी, कलाकार र स्थानीय उद्यमीहरूलाई प्रत्यक्ष लाभ पु¥याउनुका साथै आत्मनिर्भर स्थानीय अर्थतन्त्रको अवधारणालाई पनि मजबुत बनाएको छ ।
सडक महोत्सवमार्फत पोखरा सबै मौसमका लागि उपयुक्त गन्तव्य हो भन्ने सन्देश पनि प्रभावकारी रूपमा प्रवाह भइरहेको छ । केवल एक सिजनमा सीमित नभई वर्षैभरि भ्रमण गर्न सकिने गन्तव्यका रूपमा पोखराको पहिचान विस्तार हुँदै गएको छ । सडक महोत्सवलाई हामीले एउटा युनिक फेस्टिभलका रूपमा लिन सक्छौं । खुला सडकमा आयोजना हुने यो महोत्सवमा विभिन्न प्रकारका परिकारको स्वाद लिन पाइन्छ । नेपाली खानाका मौलिक स्वादसँगै विभिन्न जातजातिका परम्परागत परिकार, स्थानीय र विदेशी खानाको मिश्रणले महोत्सवलाई अझ रंगीन बनाएको हुन्छ । यससँगै नेपाली कला, संस्कृति, भेषभूषा र जीवनशैलीलाई नजिकबाट अवलोकन गर्ने अवसर पनि पर्यटकले पाउँछन् ।
पोखराको सडक महोत्सव केवल नयाँ वर्ष मनाउने कार्यक्रम मात्र नभई पर्यटन, संस्कृति, स्थानीय उत्पादन र आर्थिक गतिविधिको समग्र उत्सव हो । तसर्थ सबै देशबासी महोत्सव हेर्न आउनुहुन्छ भन्ने अपेक्षा राखेका छौं ।




Comments are closed.