lcci festival

महोत्सवले पोखरालाई नयाँ वर्ष मनाउने गन्तव्य बनाएको छ

तारानाथ पहारी, अध्यक्ष, पोखरा पर्यटन परिषद्

पोखरामा जाडोयामलाई पर्यटनको अफ–सिजनका रूपमा लिइन्छ । यस समयमा पोखरामा पर्यटकको आवागमन न्यून हुने गर्दछ । तर हाम्रो छिमेकी मुलुक भारतमा भने यही समय अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रमुख पर्यटन सिजनका रूपमा रहँदै आएको छ । यही यथार्थलाई मनन गर्दै तत्कालीन पर्यटन उद्यमीबाट पोखरामा सडक महोत्सवको अवधारणा अघि सारियो, जसले क्रमशः ठूलो सफलता प्राप्त ग¥यो । यसको परिणामस्वरूप वर्षेनी विदेशी पर्यटकको आगमन बढ्दै गएको हामीले देखिरहेका छौँ ।

पोखरा सडक महोत्सवले कला, संस्कृति, संगीत र परम्परालाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ । यो महोत्सव पुरानो पुस्ताबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको उत्कृष्ट उदाहरण हो । यसले एकातिर हाम्रो मौलिक संस्कृति संरक्षण गरेको छ भने अर्कोतिर पर्यटकहरूमाझ यसको प्रवद्र्धन र विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको छ । मेरो बुझाइमा, पोखरा सडक महोत्सव नेपालकै पहिलो किसिमको माइस (बैठक, प्रोत्साहन, सम्मेलन तथा प्रदर्शनी) पर्यटनको उदाहरण पनि हो । आज यो महोत्सव कुनै एक व्यक्ति वा संस्थाको मात्र कार्यक्रम रहेन; यो सम्पूर्ण पोखरेली जनताको साझा उत्सव बनेको छ । किनकि यो महोत्सव गण्डकी प्रदेशको समग्र समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको छ।

म प्रत्येक वर्ष यस महोत्सवमा नयाँ–नयाँ परिवर्तन र थपिएका आकर्षणहरू देखिरहेको छु, चाहे त्यो मयूर नृत्य होस्, हनुमान नृत्य होस् वा पूर्व नेपालको मिथिला संस्कृतिदेखि तराईको थारु खानासम्म । यस महोत्सवले आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई आकर्षित गर्दै पोखरालाई अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रमुख गन्तव्यका रूपमा स्थापित गरेको छ।

You might also like

Comments are closed.