पोखरामा नेपाल भारत सीमा सुरक्षा बैठक

पोखरा । नेपाल भारत सीमा सुरक्षा समन्वय बैठक बुधबारदेखि पोखरामा शुरु भएको छ । पोखराको दोबिल्लास्थित एक रिसोर्टमा बुधबार शुरु भएको बैठक तीन दिनसम्म चल्नेछ । बैठकको पहिलो दिन उद्घाटन शत्र चलेको श्रोतले जनाएको छ । उद्घाटन शत्र पोखरामा भएपनि बाँकी २ दिनको बैठक काठमाडौंमा बस्नेछ । जसका लागि नेपाल र भारतका सुरक्षा अधिकारीहरु विहीबार काठमाडौं पुग्नेछन् ।

नेपाल र भारतको सीमा क्षेत्रमा हुने आपराधिक गतिविधी र त्यसको नियन्त्रण सम्बन्धी छलफल हुने भनिएको बैठकको नेतृत्व दुबै देशका सुरक्षाकर्मीका नेतृत्वमा रहेका अधिकारीहरुले गरेका छन् । बैठकमा नेपाली टोलीको नेतृत्व सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल र भारतीय टोलीको नेतृत्व सीमा सुरक्षा बल (एसएसबी)का महानिर्देशक कुमार राजेश चन्द्रले गरेका छन् ।

टोलीमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बलका महानिरिक्षक खनालसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त महानिरिक्षक (एआइजी) हरु १÷१ जना, भारतसँग सीमा जोडिएका ६ वटा प्रदेशका सशस्त्र प्रहरी नायव महानिरिक्षक (डिआइजी)हरु, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका उपसचिवहरु १÷१ जना र नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान ब्यूरोका डिआइजीहरु गरी १५ जना सहभागि रहेका छन् । त्यस्तै भारतको तर्फबाट सीमा सुरक्षा बल (एसएसबी)का महानिर्देशक कुमार राजेश चन्द्रसहित ६ जना सहभागि रहेको नेपालको तर्फबाट बैठकमा सहभागि एक सुरक्षा अधिकारीले जानकारी दिए ।

बैठकमा अन्तरदेशीय सीमा अपराध नियन्त्रण, चोरी निकासी, हात हतियार, लागु पदार्थ (ड्रग्स), मानव तस्कर लगायतको नियन्त्रण गर्ने बारे विषय प्रवेश भएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायव महानिरिक्षक (डिआइजी) सुरजकुमार श्रेष्ठले जानकारी दिए । बैठकमा दशगजामा संयुक्त सुरक्षा गस्ती, सूचना आदानप्रदानलगायतका बारेमा पनि छलफल हुने उनले बताए । उनका अनुसार बैठकमा सुरक्षाका लागि आवश्यक सहयोग सामग्री आदानप्रदान, संयुक्त तालिम, सीमा सुरक्षामा दुई सुरक्षाकर्मीबीच समन्वयलगायतका विषयमासमेत गम्भीर छलफल भई निश्कर्षमा पुगिनेछ ।

बैठकले सीमा क्षेत्रमा राखिएको सहायता कक्ष (हेल्प डेस्क)लाई निरन्तरता दिने सहमति जुटाएको छ । प्रवक्ता श्रेष्ठले हेल्प डेस्कपछि सीमा क्षेत्रमा अपराध घटेको दाबी गर्दै भने,‘हेल्प डेस्क प्रभावकारी बनेको छ, यस वर्षको चाँडपर्व दशैं तिहारमा एउटापनि लुटिएको वा ठगिएको घट्ना सुन्नु परेन, त्यसैले यसलाई निरन्तरता दिने सहमति भएको छ ।’

सीमामा देखा परेका आपराधीक गतिविधिका बारेमा छलफल भएपनि हालसालै उत्पन्न कालापानी, लिपुलेक र लिम्पीयाधुरा क्षेत्रका बारेमा भने छलफल नहुने बताइएको छ । यो नियमित बैठक मात्र हो,‘प्रवक्ता श्रेष्ठले भने,‘सीमा विवाद राजनीतिक स्तरमा मात्रै छलफल हुन्छ, यस्तो बैठकमा विवादित कुराहरुमा छलफल हुँदैन ।’ भारतले कालापानी, लिपुलेक र लिम्पीयाधुरा भारतमा रहेको नक्सा हालसालै सार्वजनिक गरेपछि यसबारे विवाद उत्पन्न भएको थियो । भारतको उक्त नक्साप्रति नेपालले आपत्ति जनाउँदै सच्याउन आग्रहसमेत गरिसकेको छ । तर यो विषयले बैठकमा प्रवेश नपाउने भएको हो ।

बैठकमा सहभागि दुबै तर्फका संयुक्त टोलीले चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरीको बिपद् तालिम केन्द्रको अवलोकनसमेत गर्ने बताइएको छ ।

यसअघि सीमा सुरक्षा सम्बन्धी बैठक २०७५ साल साउन २३ र २४ मा भारतमा भएको थियो । भारतको नयादिल्लीमा भएको बैठकपछि अहिले पोखरामा बसेको हो । त्यसअघि पहिलो बैठक २०६९ सालमा भारतमा र दोश्रो बैठक २०७२ मा नेपालमा भएको थियो ।

lcci
You might also like

Comments are closed.