इक्यान कोषाध्यक्षमा खड्काको उम्मेदवारी : आर्थिक अनुशासित र पारदर्शीताको संकल्प

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को कोषाध्यक्षमा उमा खड्का पाठकले उम्मेदवारी सार्वजनिक गरेकी छन् । यही पुस २८ गते हुने २०औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । बर्तमान कार्यकालमा उनले कार्यसमिति सदस्य भएर काम गरिरहेकी छन् ।

पाठकले संस्थागत सुदृढीकरण र आर्थिक पारदर्शिताको जग बलियो बनाउने एजेन्डासहित कोषाध्यक्षमा दाबेदारी प्रस्तुत गरेकी छन् । बिगत लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय पाठकले हाल इक्यानमा सिएसआर विभाग र ‘इक्यान यूएएसए’ विभागको जिम्मेवारी समेत सम्हालिरहेकी छन् ।

पाठकले आफ्नो उम्मेदवारी घोषणा गर्दै संस्थालाई आर्थिक रूपमा अनुशासित र पारदर्शी बनाउने संकल्प गरेकी छन् । संस्थाको आम्दानी–खर्चलाई प्रणालीगत बनाउँदै नियमित रूपमा सदस्यहरूसमक्ष सार्वजनिक गर्ने, आर्थिक निर्णयहरूलाई व्यक्तिगत तजबिजभन्दा माथि उठाएर दीर्घकालीन र नीतिगत आधारमा सञ्चालन गर्ने, केन्द्र र विभिन्न शाखाहरूबीच आर्थिक समन्वयलाई थप मजबुत बनाउने र स्रोतको उचित बाँडफाँड गर्ने, उपलब्ध स्रोत र साधनलाई ७०० भन्दा बढी सदस्यहरूको व्यावसायिक हित र क्षमता विकासमा परिचालन गर्ने उनको प्रतिबद्धता छ । ‘इक्यानलाई आर्थिक रूपमा आत्मनिर्भर, विश्वसनीय र सुशासनयुक्त संस्थाको रूपमा स्थापित गर्नमा म सक्रिय हुनेछ,’ उनको प्रतिबद्धता छ ।

एक कार्यकाल कार्यसमिति सदस्य रहेर काम गर्दा आर्जन गरेको अनुभवलाई अब संस्थाको आर्थिक व्यवस्थापन सुधार्न प्रयोग गर्ने आफ्नो चाहना रहेको उनले बताइन् । ‘मेरो लक्ष्य इक्यानलाई केवल आर्थिक रूपमा सक्षम मात्र होइन, मर्यादित र अनुशासित बनाउनु हो,’ उनको प्रतिबद्धता छ ।

 

You might also like

Comments are closed.