होटल संघ नेपाल स्थापनाको ६० वर्ष (हीरक जयन्ती) को समारोह तथा नेपाल सत्कार दिवसको यो वार्षिक उत्सवको ऐतिहासिक अवसरमा यहाँहरू सबैलाई हार्दिक स्वागत, सम्मान र अभिनन्दन व्यक्त गर्न पाउँदा अत्यन्तै गौरवान्वित भएको छु ।
आजको समारोहलाई केबल उत्सव मात्र हैन, नेपाली हस्पिटालिटी इन्डष्ट्रिको विकास समीक्षा गर्दै आउँदा चुनौती र अवसरहरूको लेखाजोखाको प्रारम्भ पनि हो ।
यस समारोहमा सम्माननीय उपराष्ट्रपति ज्यु, श्रीलंकाकी महामहित राजदूत ज्यु, सरकारका उच्च तहका नेतृत्व, कूटनीतिक समुदाय, नियामक निकाय, पर्यटन प्रवद्र्धन गर्ने संस्थाहरू, निजी क्षेत्रका अग्रजहरू तथा देशैभरका सदस्यहरूको उपस्थितिले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रलाई साझा राष्ट्रिय एजेन्डाको रुपमा अघि बढाउने प्रतिबद्धतालाई सुदृढ बनाएको अनुभूति गरेको छु ।
आज हामी ६ दशक लामो यात्राको फराकिलो मोडमा उभिएका छौं, जहाँबाट हामीले विकास र समृद्धिको नयाँ उचाईतर्फ अग्रसर भएका छौं । सन् १९६६ को वर्ष नेपाली पर्यटन उद्योग प्रारम्भिक चरणमा थियो, त्यही समय हाम्रा दूरदर्शी अग्रज होटल व्यवसायीहरूले होटल संघ नेपालको स्थापना गर्दै संस्थागत सहकार्य, पेशागत एकता र गुणस्तरीय सेवाको आधारशीला तय गर्नुभयो ।
यो ६ दशकमा नेपालले राजनीतिक परिवर्तन, प्राकृतिक विपद, राष्ट्रिय तथा विश्वव्यापी आर्थिक उतारचढाव र महामारीजस्ता असाधारण चुनौतीहरू सामना ग¥यो । ती प्रत्येक चरणमा होटल संघ नेपालले समग्र उद्योगको आवाज बनेर, नीति एवं सुधारको पैरवी गर्दै श्रमिक र उद्यमीबीच सन्तुलन मात्र कायम राखेन नेपालमा पर्यटन सम्बन्धी नीति, कानून र नेपालमा पर्यटन विकासको उपयुक्त मोडलको समेत नेतृत्व ग¥यो ।
नेपालमा हवाई सञ्जालको दायराको विस्तारमा १९९० को मध्य दशकबाट संघले खुला आकाश नीतिको पक्षमा गरेको नेतृत्व र पैरवीले नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्यमा जोड्ने कार्य ग¥यो भने ग्रामीण तथा पर्वतीय पर्यटनलाई प्रत्यक्ष बढावा दिई समग्र देश विकासमा सम्पर्क सेतु बन्यो ।
नेपालमा मनाइएका विभिन्न पर्यटन अभियानहरू, पर्यटन वर्ष, पर्यटन रणनीति र संकट व्यवस्थापन तथा पुनरुत्थानमा होटल संघ नेपाल सरकारको भरपर्दो साझेदारको रुपमा भूमिका निर्वाह गरिरहेको छ । यसबीच विश्वकै ख्यातिप्राप्त अन्तर्राष्ट्रिय होटल रेस्टुरेन्टको विश्व सम्मेलन नेपालमा आयोजना गर्न र विश्वको वर्तमान अभ्यास अनुकूल पर्या पर्यटन, हरित पर्यटनको प्रस्थान विन्दूको रुपमा Say No to Single-use Plastic Campaign को नेतृत्वको कारण नेपाल सरकारले आफ्नो मार्गदिशा त्यतातर्फ उन्मुख गरेको सुखद विवरण सरोकार यहाँहरूमाझ राख्न पाउँदा म हर्षित छु ।
होटलको स्तरीय सेवा स्तरको मापदण्ड र अनुगमनमा होटल संघ नेपाल प्रत्यक्ष रुपमा सरकारी नियामक निकायसँग प्रभावकारी सहकार्य गर्दै आएको छ । राज्यले होटल संघ नेपालको प्रभावकारी भूमिकाको सराहना गर्दै होटल रिसोर्टहरूको वर्गिकरण र तारा स्तर निर्धारणमा सहकार्य गरेको र तारा अंकित संकेत चिन्ह वितरण गर्ने काम जिम्मा लगाएको यहाँ उल्लेख गर्न चाहन्छु ।
आजको यस अवसरमा म मेरा अग्रज पूर्व अध्यक्षहरू श्री योगेन्द्र शाक्यज्यू, श्री नरेन्द्र वज्राचार्यज्यू, श्री प्रकाश श्रेष्ठज्यू, श्री प्रशिद्ध बहादुर पाण्डेज्यू र निवर्तमन अध्यक्ष श्रीमती सृजना राणाज्यूको योगदान र नेतृत्वकारी भूमिकालाई नमन गर्दै सम्झन चाहन्छु ।
आज हामी माझ नरहनु भएका दिवंगत पूर्व अध्यक्षज्यूहरूले नेपालको होटल उद्योगलाई व्यावसायिक, नीतिगत, र सञ्जालगत रुपमा उन्नत बनाउने काममा निरन्तर योगदान दिनु भएकोमा सम्मान व्यक्त गर्दछु । उहाँहरूको नेतृत्वले होटल संघ नेपाललाई संस्थागत सुशासन, क्षेत्रीय विस्तार, अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ उचाईमा पु¥याएको छ । त्यसैगरी, संघको जग बसाल्ने र यसलाई राष्ट्रिय महासंघको रुपमा विकास गर्ने दिवंगत पूर्व अध्यक्षज्यूहरू संस्थापक अध्यक्ष स्व. श्री प्रभाकर शमशेर राणाज्यू, स्व. पूर्व अध्यक्ष श्री शहदेव शमशेर राणाज्यू, स्व. पूर्व अध्यक्ष श्री अनुप शमशेर राणाज्यू, स्व. पूर्व अध्यक्ष श्री श्याम बहादुर पाण्डेज्यू, स्व. पूर्व अध्यक्ष श्री गौतम दास श्रेष्ठज्यू, स्व. पूर्व अध्यक्ष श्री श्याम सुन्दर लाल कक्षपतिज्यू, स्व. पूर्व अध्यक्ष बी.के श्रेष्ठज्यू र स्व. पूर्व अध्यक्ष श्री अमरमान शाक्यज्यूप्रति सम्मान प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गर्दछु ।
होटल संघ नेपालको इतिहास केवल एउटा संस्थाको यात्रा मात्र होइन, नेपालको पर्यटन, आर्थिक विकास र अन्तर्राष्ट्रिय पहिचानसँग गाँसिएको गौरवशाली इतिहास हो । विगत छ दशकमा संघले होटल तथा आतिथ्य क्षेत्रलाई संस्थागत, मर्यादित र विश्वसनीय बनाउँदै मुलुकको समग्र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
आजको दिनमा होटल उद्योग नेपालको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतहरूमध्ये एक बनेको छ । लाखौँ विदेशी पर्यटकहरूलाई सेवा प्रदान गर्दै होटल क्षेत्रले वार्षिक अर्बौँ रुपैयाँ बराबरको विदेशी मुद्रा भित्राइरहेको तथ्य हामी सामु छ भने राज्यको राजस्व संकलनमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ ।
रोजगारीको दृष्टिले हेर्दा, होटल उद्योगले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाखौँ नेपालीलाई रोजगारी दिएको छ । त्यसमा पनि महिलालाई रोजगारी दिने होटल तथा आतिथ्य क्षेत्र प्रमुख छ । विशेषगरी युवाहरूलाई देशमै रोजगारीको अवसर सिर्जना गर्दै सीप, क्षमता र पेशागत विकासमा टेवा पु¥याउने होटल संघ नेपालको भूमिका महत्वपूर्ण रहेको स्मरण गराउन चाहन्छु ।
आज हामी गर्वका साथ भन्न सक्छौं –
नेपालको होटल क्षेत्र विश्वस्तरीय सेवा दिन सक्षम छ । पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्राण्डका होटलहरू नेपाल भित्रिने क्रम तीब्र रूपमा बढेको छ, जसले हाम्रो बजारप्रति विश्व समुदायको भरोसा झल्काउँछ । यसले सेवा गुणस्तर, व्यवस्थापन दक्षता र प्रतिस्पर्धात्मक क्षमतालाई अझ मजबुत बनाएको छ ।
पर्यटकीय गन्तव्य विकासमा होटल उद्योगको भूमिका अत्यन्तै महत्वपूर्ण छ । होटलहरू नहुँदा गन्तव्य हुँदैन, र गन्तव्य नहुँदा पर्यटन फस्टाउँदैन । दुर्गम क्षेत्रदेखि शहरसम्म होटल उद्योगले पूर्वाधार विकास, स्थानीय उत्पादनको उपयोग र स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा उल्लेखनीय योगदान पु¥याएको छ ।
तर, अवसरसँगै चुनौतीहरू पनि छन् । आजको यथार्थ के हो भने –
धेरै होटलहरू सञ्चालनमा आएका छन्, तर बजारको बर्तमान माग भन्दा आपूर्ति बढ्दो अवस्थामा छ । यसले लगानीकर्ताको प्रतिफल, व्यवसायको दिगोपन र सेवा गुणस्तरमा दबाब सिर्जना गरिरहेको छ ।
यस चुनौतीलाई अवसरमा बदल्न हामी सबैले नीतिगत सुधार, गन्तव्य विविधीकरण, पर्यटक बसाइ अवधि वृद्धि, आन्तरिक पर्यटन प्रवद्र्धन र नयाँ बजार खोजी र सबैभन्दा महत्वपूर्ण कनेक्टिभिटी पूर्वाधार र व्यवस्थापकीय क्षमताको सुधारमा एकजुट भएर अघि बढ्न आवश्यक छ ।
आजको दिनमा पनि देशको पर्यटन ऐन ४७ वर्ष पहिले २०३५ मा जारी ऐनकै अधीनमा रहँदा समय सापेक्ष धेरै पक्षहरू छुटेका छन्, नयाँ पर्यटन ऐन जारी हुनेमा हाम्रो अपेक्षा यथावत छ ।
पर्यटन विकासमा सरकारको नीति ऐन कार्यक्रमको घोषणा सकारात्मक हुँदा हुँदै पनि सोको कार्यान्वयन निराशाजनक छ । दशकौंको प्रयासपछि होटललाई उद्योगको मान्यता आजसम्म पनि सरकारले कार्यान्वयन गरेको छैन । कतिपय सरकारी सुविधा र प्राथमिकताबाट वञ्चित हुनुको पीडा भोगिरहेका नेपाली होटलहरूले उपभोग गर्ने बिजुली महशुल आज पनि normal commercial rate मा नै भुक्तानी गर्नु परेको तथ्य राज्यले यस क्षेत्रलाई सम्मान गर्न नसकेको रुपमा लिइन्छ । यस्तै समस्या तमाम साना होटलहरूलाई अव्यवहारिक संक्षिप्त वातावरणीय अध्ययन BES अनिवार्य गरिरहँदा व्यवसाय संचालन र नवीकरणमा परेको समस्या वर्षौंदेखि यथावत नै छ । राज्यको नीति नियम ऐन पालना गरी नियमित कर चुक्ता गरी संचालित होटलहरू र अनौपचारिक ढंगबाट घर घर वस्ती वस्तीमा संचालित B&B लगायतका आवास व्यापारहरू नियमन गर्न चुक्दा राज्यले राजस्व गुमाएको छ भने हामी औपचारिक क्षेत्रका व्यवसाय पनि प्रभावित छौं । सडकमा गुड्ने सवारी साधनको Blue Book र सवारी चालक अनुमतिपत्र अनिवार्य चाहिन्छ तर भुक्तानी लिएर अवास व्यवसाय विना दर्ता निर्वाध गर्ने गरिएको छ । No License: No Accommodation नियम अनिवार्य हुनु पर्छ ।
यस सम्बन्धमा आम व्यवसायी तथा आतिथ्य उद्योगको मनोबल उँचो गर्दै पर्यटन उद्योगको पुनसंरचना गर्न आवश्यक महसुस गर्दछु । नेपालमा केही भएन, भविष्य छैन भन्ने आम कथन र बुझाईलाई एक पछि अर्को ठूला अन्तर्राष्ट्रिय लगायतका दर्जनौं स्वदेशी ब्राण्डका तारे होटलहरूले नेपालमा सम्भावना र भविष्य सुदृढ रहेको सन्देश दिएको छ ।
माग भन्दा बढी आपूर्तिको अवस्था बीचमा जेनजी आन्दोलन पश्चात होटल अकुपेन्सीमा गिरावट आउँदा बैंक वित्तीय संस्थासँगको ऋणको नियमित भुक्तानीमा कठिनाई रहेको परिप्रेक्ष्यमा राज्य र राष्ट्र बैंकबाट उपयुक्त मौद्रिक तथा आर्थिक नीति कार्यक्रम अपेक्षित छ । साथै आन्दोलनमा आगजनी, तोडफोड तथा लुटपाटमा परेका होटलहरूको पुनरुत्थान तथा दोषीलाई राज्यबाट कारबाही चाँडै नै व्यवस्थापन हुने हाम्रो अपेक्षा निरन्तर छ ।
दिनहुँजसो २५ सयको हाराहारीमा विदेश पलायन हुने युवा जनशक्तिको सीप विकास र अवसर सृजनाको नेतृत्व लिन सक्ने आतिथ्य उद्योग सबैलाई समानताको नजरले मात्र नहेरी प्राथमिकताको दृष्टिले हेरिनु पर्दछ । आजको दिनमा खासगरी गत भाद्र महिनाको आन्दोलनको प्रभाव पश्चात अत्यन्तै खस्किएको व्यवसायिक मनोबल उकास्न सरकारी तवरबाटै एकीकृत राष्ट्रिय कार्यनीति आवश्यक देखिन्छ । यस तर्फ पहिले घोषित पर्यटन दशक जस्ता राष्ट्रिय पहलहरूले पर्यटनको छिटो सुदृढिकरण र लक्ष्य उन्मुख गतिविधिलाई गति दिन सक्ने हाम्रो बुझाई छ ।
आज म यस गौरवपूर्ण अवसरमा घोषणा गर्न चाहन्छु कि– आर्थिक वर्ष २०८३/८४ मा २० लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन हामी राज्य र सरोकारवालाहरूसँगको साथ र सहकार्यमा अग्रसरता लिन्छौं । यसको लागि नेपाल पर्यटन बोर्ड तथा सरोकारवाला सबैसँग हामी सहकार्य गर्ने छौं– पर्यटनका लागि हामी सँगसँगै छौं ।
त्यसैगरी आन्तरिक पर्यटन चलायमान नगरी दिगो विकास र संख्यात्मक वृद्धि सम्भव छैन । हामी विगत लामो समयदेखि माग गरिरहेको Civil Servant लाई पर्यटन भ्रमण बिदा (LTA) लाई लागू गर्दा हाम्रो आन्तरिक बजारको गतिशीलता बढ्ने स्पष्ट खाका हामी सबैलाई छर्लंग छ । यस कार्यमा राज्यसँग सहकार्य गर्नेतर्फ पनि हामी अग्रसर छौं !
त्यसैगरी पर्यटकको बसाई लम्ब्याउन केही नयाँ आयामहरूको प्राथमिकीकरण गरिनु पर्दछ । जस्तै पर्यटन बजारमा आध्यात्मिकम पर्यटन, आरोग्य तथा योगा पर्यटन, ग्रामीण पर्यापर्यटन, MICE, Destination Wedding, खेल पर्यटन र खाना पर्यटनको विकासको दृष्टिकोणलाई सार्थकता प्रदान गर्न हामी अग्रसर छौं ।
हामी यो अर्थमा चिन्तित छौं कि नेपालले जुन तहको Cross Border Tourism बाट लाभ लिन सक्थ्यो, त्यो हुन किन सकेन ? हाम्रा घोषित राष्ट्रिय कार्यक्रमहरू किन प्रभावकारी र नतिजामूलक हुन सकेन ? हाम्रो ब्राण्डिङ कहाँ चुक्यो ? यसको संश्लेषण गरी प्रभावकारिता विस्तार गर्नु नै पर्यटन विकासको भविष्य र सम्भावना पुनर्जीवित गर्ने गहन कार्यमा पनि हामी अग्रसर रहेका छौं ।
यसर्थ, अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि आर्थिक कुटनीति समय सापेक्ष बनाई पर्यटन नीतिलाई राष्ट्रिय व्यावसायिक नीतिसँग जोड्दै सापेक्ष र प्रभावकारी बनाउनुपर्यटन प्रतिफल र लाभ आर्जन गर्न पनि होटल संघ नेपाल सक्रिय रहन्छ । सोही अनुरुप, प्रदेश स्तरमा समेत राष्ट्रिय पर्यटन संवाद, The Hotel Expo, Heritage Food Fest जस्ता कार्यक्रमहरू देशव्यापी रुपमा संचालन गर्दै आन्तरिक पर्यटनमार्फत वहआयामिक आधार विस्तार गर्नुपर्नेमा ढिलाई गर्न हुँदैन ।
युवा पुस्ताले खोजेको विकास, शून्य भ्रष्टाचार, बेथितिको अन्त्य जस्ता परिवर्तन र पर्यटन विकास तथा आतिथ्य उद्योगमा पनि अपरिहार्य छ । ३५/४० लाख ग्राहकलाई सेवा दिने होटल तथा आतिथ्य उद्योगको क्षमता विकास भइ सक्दा पनि १२ लाखको आगामनमा खुम्चिनु परेको अवस्थाबाट देश र जनताले आर्थिक लाभ गुमाउनु परेको वर्तमान कठीन अवस्थामा मूलभूत परिवर्तन अपेक्षित छ । देशले भोगेको जनयुद्धको दौरान नाम चलेका केही तारे होटलहरूः ब्लू स्टार, शेर्पा, नारायणी लगायतका होटलहरू सीमित ग्राहकका कारण बन्द भए । हाल पनि धेरै होटल खुलेका तर सीमित ग्राहकको चुनौतीपूर्ण अवस्थाहरू पहिलेको जस्तै दुःखद् घटना नदोहो¥याउन उपयुक्त नीति कार्यक्रम आवश्यक छ ।
यसर्थ परिवर्तनका लागि हाम्रो हैन राम्रो र सक्षम नेतृत्व आजको आवश्यकता हो । यही आवश्यकता पर्यटन उद्योगमा पनि बोध भएको छ । र हाम्रो चाहना पनि यही नै हो ।
हवाई सञ्जाल विस्तारका साथै पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण सञ्चालनमा ल्याउनु पर्ने र लामो समयदेखि स्तरोन्नति र निर्माणाधीन सडक सञ्जाल यथाशीघ्र सम्पन्न गरी सबैले सधैं भनिरहने कमजोर Connectivity नै पर्यटन विकासको बाधक हो भन्ने भाष्यलाई चिर्दै पर्यटन जगतमा आशातित सञ्चार गरिनु आवश्यक छ ।

यसका लागि व्यवस्थापकीय क्षमताको विकास आवश्यक रहेको छ भने पर्यटन विकासका लागि राज्यले स्थापना गरेका निकायहरूको प्रभावकारी भूमिका आवश्यक छ । सरकारी निकायहरूबीचको समन्वय पर्यटन multi sectoral activity भएको हुँदा सम्बद्ध सबै पक्षको पर्यटन प्रवद्र्धनमा समान बुझाई, चासो र प्रथमिकता आवश्यकता पनि उत्तिकै जरुरी छ ।
होटल संघ नेपालले सन् २०२६ मा सातै प्रदेशमा वर्षैभरि सञ्चालन हुने कार्यक्रमहरूको तालिका यसै समारोहमा सार्वजनिक गरिने छ । आज यस गरिमामय सभाबाट घोषणा गरिने महत्वपूर्ण कार्यक्रमहरूमा नेपाल हस्पिटालिटी काउन्सिल, हरित पर्यटनको अभिवृद्धि, तथा होटलहरूलाई प्रविधिमैत्री बनाउने पहलहरू रहेका छन् । यी सम्पूर्ण कार्यक्रमहरू २०२६ भरि आयोजना गरी नेपाल सत्कार दिवस २०२७, आजकै दिनमा भव्यताका साथ समापन गरिने पनि म यहाँ जानकारी गराउन चाहन्छु ।
अन्त्यमा, होटल संघ नेपालको ६० वर्षे यात्रामा योगदान पु¥याउनु हुने सम्पूर्ण अग्रजहरू, सदस्यहरू, सरकारी तथा निजी क्षेत्र, र आज यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु । आगामी दिनहरूमा पनि होटल संघ नेपालले नेपाली पर्यटन र आर्थिक समृद्धिको यात्रामा अझ सशक्त भूमिका निर्वाह गर्ने प्रण व्यक्त गर्दै मेरा भनाइहरू यहीं समाप्त गर्न चाहन्छु ।
जय पर्यटन
(होटल संघ नेपालको डायमन्ड जुबिली समारोहको विशेष कार्यक्रममा अध्यक्ष शाहको मन्तव्य ।)




Comments are closed.