टिकटक चलाउन जान्नेले कर दाखिला गर्न नजान्ने भन्न मिल्दैन: प्रमुख कर अधिकृत ढुंगाना

पोखरा । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले व्यवसायीलाई कर प्रणालीबारे सचेत र जिम्मेवार बन्न आग्रह गरेका छन् । सोमबार पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मूल्य अभिवृद्धि कर (भ्याट) तथा करसम्बन्धी तालिम कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जाल चलाउन जान्ने व्यवसायीले कर दाखिला गर्न नजान्ने बहाना गर्न नहुने बताए ।

“हामीलाई टिकटक र फेसबुक चलाउन कसैले सिकाएको होइन। मार्क जुकरबर्ग आएर फेसबुक यसरी चलाउने हो भनेका पनि होइनन् होला,” उनले भने, “त्यो चलाउन जान्ने तर आफूलाई चाहिने करको दाखिला गर्न नजान्ने, बिल काट्न नआउने भन्न मिल्छ र ?”

उनले नेपालको कर प्रणाली स्वघोषणामा आधारित रहेको स्पष्ट पार्दै कर प्रशासनका ८० प्रतिशत काम अनलाइनबाटै हुने जानकारी दिए । “कार्यालय आउनै पर्दैन । हाम्रो वेबसाइटमा सधैं सोधिने प्रश्नका उत्तर छन्। अलिकति अध्ययन गर्नासाथ आफैंले तिर्नुपर्ने राजश्व बुझाउन सकिन्छ,” उनले भने ।

ढुंगानाका अनुसार भ्याट व्यवसायीले तिर्ने कर नभई उपभोक्ताबाट संकलित रकम राज्यलाई बुझाउने व्यवस्था हो। “उपभोक्ताले तिरेको रकम एक महिनासम्म बिना ब्याज चलाउन पाइन्छ,” उनले स्पष्ट पारे । दण्ड र जरिवानाबाट जोगिन व्यवसायी आफैं जागरुक बन्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रम GIZको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी)को सहयोगमा सञ्चालन गरिएको हो। संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । हालसम्म ४ वटा तालिम प्रदान गरिएको र सोमबार एवं फ्लोरिङ तथा फर्निसिङ व्यवसायी संघ कास्कीसँगको समन्वयमा आयोजना २ दिने तालिम आयोजना गरिएको अध्यक्ष कार्कीको भनाइ छ ।

 सो कार्यक्रममा बोल्दै संघका अध्यक्ष गोकर्ण कार्कीले कर तिर्नु व्यवसायीको धर्म हो भन्नेमा संघ प्रष्ट रहेको र प्रणाली चाहिँ अझै सरल हुनुपर्ने धारणा सुनाए । पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै फ्लोरिङ तथा फर्निसिङ व्यवसायी संघ कास्कीका अध्यक्ष थानेश्वर तिवारीले कर प्रणालीबारे जानकारी प्राप्त हुँदा व्यवसाय गर्न सहजता प्राप्त हुने आशा राखे । सहभागीहरुलाई सिए विवेक श्रेष्ठले कर र भ्याटबारे सहजीकरण गरेका थिए ।

You might also like

Comments are closed.