हिमाली तथा पहाडी जिल्लामा आज होली पर्व मनाइँदै

काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व आज देशका हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र भाइचाराको सन्देश दिने यस पर्वमा सर्वसाधारणले एक–आपसमा रङ र लोला खेल्दै उल्लास प्रकट गरिरहेका छन् ।

परम्पराअनुसार यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । प्राचीनकालदेखि चल्दै आएको यस परम्पराले समाजमा आपसी सम्बन्ध सुदृढ बनाउने विश्वास गरिन्छ । होलीमा काठमाडौंको वसन्तपुरमा गाडिएको ‘चिर’ आज विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेलमा लगेर दहन गरिने परम्परा छ । चिरमा राखिएका ध्वजापताका औषधीय गुणयुक्त हुने विश्वास गरिन्छ भने चिरको खरानीको टीका लगाउँदा अनिष्ट टर्ने जनविश्वास रहेको छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि सिँगारिएको चिरमा पूजा गरेपछि फागु पर्व सुरु हुने चलन छ । आज राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई प्रतीकात्मक रूपमा भोजन चढाई सैनिक अस्पतालभित्रको ‘जधु’ धारामा विसर्जन गर्ने नेवार परम्परा पनि रहँदै आएको छ।

धार्मिक मान्यताअनुसार त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्न आगोले नछुने वरदान पाएकी बहिनी होलिकालाई आगोमा पठाउँदा होलिका भष्म भइन् तर प्रह्लाद सुरक्षित रहे । त्यही घटनाको स्मरणमा होली मनाउने परम्परा चलेको विश्वास गरिन्छ ।

यसैगरी द्वापरयुगमा कंशद्वारा पठाइएकी राक्षसनी पुतनालाई भगवान् श्रीकृष्णले वध गरेको प्रसंगसँग पनि फागु पर्व जोडिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

फागुपूर्णिमाका अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने चलनअनुसार यस वर्ष मंगलबार पर्व मनाइँदै छ र सो दिन सार्वजनिक बिदा दिइएको छ ।

पछिल्लो समय नशालु पदार्थ सेवन गरी झैझगडा गर्ने, हानिकारक रासायनिक रङ प्रयोग गर्ने तथा सवारीसाधनमा लोला हिर्काउने जस्ता विकृति घट्दै गएका छन् । यस दिन भाङ मिसाइएका परिकार, मिठाइ तथा विविध परम्परागत खानाका साथ बाजागाजामा नाचगान गर्दै समूह–समूहमा घुम्ने चलन छ ।

थकाली समुदायले विशेष पोसाकमा सजिएर परिवारसहित भेला भई तीर हान्ने प्रतियोगिता गर्ने परम्परा पनि यस पर्वको आकर्षण हो । सात दिनसम्म चल्ने फागु पर्वमा आफन्तजन भेला भई मीठा परिकारका साथ रमाइलो गर्ने परम्परा कायमै छ ।

You might also like

Comments are closed.