काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सोमबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । राजनीतिक दल तथा उम्मेदवारले आजसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् ।
निर्वाचन आयोगका अनुसार सोमबार राति १२ बजेदेखि मौन अवधि लागू हुनेछ र मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइने छैन । आयोगले मौन अवधि मतदानको दिनभन्दा अघिल्लो ४८ घण्टादेखि अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाएको छ ।
आयोगले मौन अवधिमा आचरणविपरीत गतिविधि गरेमा सम्बन्धित उम्मेदवारको मनोनयन नै रद्द हुन सक्ने चेतावनी समेत दिएको छ ।
कुनै पनि माध्यमबाट मत माग्ने, प्रचार सामग्री वितरण गर्ने वा समर्थनका लागि अपिल गर्न पाइँदैन । राजनीतिक सभा, सम्मेलन, गोष्ठी, कार्यशाला, अन्तर्क्रिया लगायत कुनै पनि सार्वजनिक कार्यक्रम गर्न पाइँदैन।
मतदान हुने दिनभन्दा ४८ घण्टा अघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका पोस्टर, ब्यानर, पर्चा लगायतका सामग्री हटाउनुपर्नेछ ।
प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मत प्रभावित पार्ने गरी सामाजिक सञ्जाल, अनलाइन माध्यम वा अन्य सञ्चार साधन प्रयोग गर्न निषेध गरिएको छ ।
नगद, उपहार, भोजभतेर वा अन्य कुनै प्रलोभन दिने तथा मत प्रभावित पार्ने क्रियाकलाप गर्न पाइँदैन ।






Comments are closed.