काठमाडौं । निर्वाचन आयोग ले मतदान गर्न जाँदा मतदाताले अनिवार्य रूपमा आफ्नो मतदाता परिचयपत्र साथमा लैजानुपर्ने जनाएको छ ।
मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताको सहजताका लागि मतदान प्रक्रिया र आवश्यक कागजातबारे जानकारी गराएका हुन् । उनले मतदाता शिक्षा कार्यक्रमअन्तर्गत डिजिटल माध्यम तथा स्वयंसेवकमार्फत घर–टोलमै पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए ।
आयोगका अनुसार मतदाता परिचयपत्र हराएको, नासिएको वा नष्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) को सक्कलप्रति देखाएर पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
मतदान केन्द्रमा पुगेपछि मतदाताको नाम नामावलीमा रुजु गरिनेछ। त्यसपछि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गतको मतपत्र प्रदान गरिनेछ । मतदाताले गोप्य मतदान कक्षमा गई आफूले रोजेको उम्मेदवारको चुनाव चिन्हमा छाप लगाएर प्रत्यक्षतर्फको मतपेटिकामा मत खसाल्नुपर्नेछ ।
प्रत्यक्षतर्फ मतदान गरेपछि समानुपातिक प्रणालीअन्तर्गतको मतपत्र दिइनेछ। उक्त मतपत्रमा आफूले मन परेको राजनीतिक दलको चुनाव चिन्हमा छाप लगाई छुट्टै मतपेटिकामा खसाल्नुपर्ने व्यवस्था रहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।
भीडभाड व्यवस्थापन र सहजताका लागि मतदान केन्द्रमा प्रवेश र बहिर्गमनका लागि छुट्टाछुट्टै ढोकाको व्यवस्था गरिएको आयोगले जनाएको छ ।






Comments are closed.