मतदान केन्द्रमा तीन तहको सुरक्षा व्यवस्था गरिएको छ: निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोग ले आसन्न निर्वाचनका लागि भरपर्दो र सुदृढ सुरक्षा प्रबन्ध मिलाइएको जनाएको छ ।  आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विगतका निर्वाचन अभ्यासलाई मध्यनजर गर्दै प्रत्येक मतदान केन्द्रमा तीन तहको सुरक्षा रणनीति अपनाइएको छ ।

सबै सुरक्षा निकायलाई समन्वयात्मक रूपमा परिचालन गरी मतदान प्रक्रिया सुरक्षित र व्यवस्थित बनाइएको उनले बताए ।  सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा सुरक्षा चुनौतीसम्बन्धी आएका अतिरञ्जित र भ्रामक सूचनाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले त्यस्ता हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ ।

प्रवक्ता भट्टराईले मतदाताहरू त्रसित हुनुपर्ने कुनै अवस्था नरहेको उल्लेख गर्दै शान्ति सुरक्षाको अवस्था देशभर भरपर्दो रूपमा मिलाइएको जानकारी दिए । आयोगले मतदाताहरूलाई कुनै डर, त्रास, दबाब वा प्रभावमा नपरी निर्धक्क भएर आफ्नो मतदान केन्द्रमा पुगेर मन पराएको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्न आग्रह गरेको छ ।

‘शान्ति सुरक्षाका लागि भरपर्दो प्रबन्ध मिलाइएको छ । मतदाताहरूले कसैको दबाब वा प्रभावमा नपरी आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्ने वातावरण सुनिश्चित गरिएको छ,’ प्रवक्ता भट्टराईले भने ।

You might also like

Comments are closed.