गोरखामा मतदान तयारी पूरा

गोरखा  ।  बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखामा सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार मतपेटिकासहित सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् ।

जिल्लामा २२५ मतदान स्थल र ३३१ मतदान केन्द्र निर्धारण गरिएको छ । तीमध्ये ८३ मतदान स्थललाई अति संवेदनशील, १३० स्थललाई संवेदनशील र बाँकी सामान्य स्तरको सुरक्षा दिइएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले जानकारी दिए । प्रत्येक मतदान स्थलमा अधिकतम तीन मतदान केन्द्र रहेका छन् ।

मतगणना स्थल दुवै निर्वाचन क्षेत्रमा तयार पारिएको छ । गोरखा–१ का लागि जिल्ला समन्वय समितिको हल र गोरखा–२ का लागि भू तथा जलाधार व्यवस्थापन कार्यालयमा मतगणना हुनेछ। स्थलमा तारजाली, सीसीटिभी सुरक्षा, मोबाइल फोन प्रतिबन्ध र दल प्रतिनिधिको व्यवस्थापन सुनिश्चित गरिएको छ ।

मतदानपश्चात मतपेटिका ढुवानीको लागि सवारी साधनको व्यवस्था पूरा भएको छ भने उत्तरी गोरखाका २२ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याइने छ ।

गोरखा–१ मा कुल १ लाख २० हजार ५२५ र गोरखा–२ मा १ लाख ८ हजार ५३३ मतदाता रहेको जानकारी मुख्य निर्वाचन अधिकृत गौतमले दिएका छन् ।

You might also like

Comments are closed.