तपाईंको नाममा अर्कैले भोट हाले के हुन्छ ?

काठमाडौं । विगतका केही निर्वाचनमा मतदाताको नाममा अर्कैले भोट हाल्ने प्रयास भएको घटना सार्वजनिक भएका छन् । यस्ता सम्भावित गतिविधिलाई ध्यानमा राख्दै निर्वाचन आयोगले हरेक निर्वाचनमा विस्तृत निर्देशिका बनाउँदै वैकल्पिक व्यवस्था सुनिश्चित गर्ने गरेको जनाएको छ ।

निर्वाचन आयोगका अनुसार यदि फर्जी मतदाताले वास्तविक मतदाताको नाममा मत खसालेको भए पनि उक्त मत मतपेटिकामा पुगेपछि कुन मत कसले खसालेको हो भनेर छुट्याउन सम्भव हुँदैन । त्यसैले सुरुवातमै त्यस्तो मत रद्द गर्न सकिँदैन। तर वास्तविक मतदाता मतदान केन्द्रमा पुगेपछि भने उसलाई मतदान गर्ने अवसरबाट वञ्चित गरिँदैन ।

आफ्नो नाममा अर्कैले मत खसालेको पुष्टि भएमा वास्तविक मतदाताले मतदान अधिकृतसमक्ष आफू वास्तविक मतदाता भएको दाबी गर्न सक्छ। मतदान अधिकृतले आवश्यक प्रमाण र विवरणका आधारमा यकिन गरेपछि त्यस्ता मतदातालाई ‘निविदा मतपत्र’ प्रदान गरिन्छ ।

निविदा मतपत्र सामान्य मतपत्रझैँ मतपेटिकामा खसालिँदैन । त्यसलाई छुट्टै खाममा राखेर अभिलेखसहित सुरक्षित गरिन्छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निविदा मतपत्र निश्चित विशेष परिस्थितिमा मात्र गणना गरिन्छ । उदाहरणका लागि, उम्मेदवारहरूबीच मत बराबर भएमा वा अदालतको आदेश प्राप्त भएमा मात्र यस्तो मतपत्र खोल्ने र गणना गर्ने व्यवस्था छ। अन्य अवस्थामा भने यसको उपयोग हुँदैन ।

मतदान अधिकृतले निविदा मतपत्रको छुट्टै लगत राख्नुपर्ने र मतपत्रमा स्पष्ट रूपमा ‘निविदा मतपत्र’ उल्लेख गर्नुपर्ने प्रावधान छ। त्यसपछि उक्त मतपत्र सुरक्षित रूपमा निर्वाचन अधिकृतलाई बुझाइन्छ।

त्यसैले आफ्नो नाममा कसैले भोट हाल्यो भन्ने थाहा पाए पनि आत्तिनु नपर्ने आयोगको भनाइ छ । यस्ता घटना हुन नदिन आयोगले सुरक्षा व्यवस्थासहित आवश्यक सतर्कता अपनाउँदै आएको जनाएको छ ।

You might also like

Comments are closed.