नेपालमा एयरबस हेलिकप्टर र लफ्ट डाइनामिक्सको हेलिकोप्टर VR तालिम सुरू

काठमाडौं ।  विश्वव्यापी भर्चुअल रियालिटी (VR) उडान तालिममा अग्रणी कम्पनी Loft Dynamics ले European Union Aviation Safety Agency (EASA) र Airbus Helicopters सँगको सहकार्यमा नेपालमा हेलिकोप्टर सुरक्षा तालिम कार्यक्रम सुरु गरेको घोषणा गरेको छ। यो पहलले चुनौतीपूर्ण भौगोलिक र मौसमीय अवस्थाबीच सञ्चालन हुने नेपाली उड्डयन क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्दै ‘शून्य–मृत्यु’ लक्ष्यतर्फ अघि बढ्न मद्दत गर्ने विश्वास गरिएको छ।

नेपालको उड्डयन क्षेत्र उच्च हिमाली भू–भाग र परिवर्तनशील मौसमका कारण विश्वमै जटिल मानिन्छ। Civil Aviation Authority of Nepal (CAAN) को २०२५ सुरक्षा प्रतिवेदनअनुसार यस्ता अवस्थामाआधारित उडानका लागि उच्च स्तरको पाइलट दक्षता अपरिहार्य छ। विशेषगरी दुर्गम क्षेत्रमा यातायात, उद्धार तथा पर्यटन सेवाका लागि हेलिकोप्टर सेवा जीवनरेखा सरह मानिन्छ।

काठमाडौंमा एक महिनासम्म सञ्चालन हुने यस सुरक्षा कार्यक्रममा Loft Dynamics को H125 VR फ्लाइट सिमुलेटर प्रयोग गरिनेछ। साथै, International Civil Aviation Organization (ICAO) का मापदण्डअनुसार विकसित Airbus Helicopters का तालिम कोर्सहरू समावेश गरिनेछन्। कार्यक्रमअन्तर्गत नेपालका सबै हेलिकोप्टर पाइलटले पर्वतीय उडान तथा H125 आपतकालीन पुनर्ताजगी (recurrent) तालिममा केन्द्रित चार घण्टाको सिमुलेटर–आधारित तालिम अनिवार्य रूपमा लिनुपर्नेछ।

तालिममा विश्वप्रसिद्ध प्रशिक्षक लरेन्ज नुफर र निक मेहेउले पर्वतीय उडान प्रशिक्षण नेतृत्व गर्नेछन् भने एअरबस इन्टरनेशनल सर्भिसेजका क्लाउस क्राउस र एअरबस हेलिकोप्टर्सका प्रशिक्षण सञ्चालन प्रमुख यान गुएरिनले आपतकालीन तालिमको नेतृत्व गर्नेछन्।

Airbus Helicopters का उड्डयन सुरक्षा व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सञ्जाल प्रमुख आर्न्ड भोन फाबेकले भने, “हाम्रो प्राथमिकता शून्य दुर्घटनातर्फ उद्योगलाई अघि बढाउनु हो। उन्नत विमान मात्र पर्याप्त हुँदैन; कठोर अवस्थासँग जुध्न सक्षम पाइलट आवश्यक हुन्छन्। यो सुरक्षा रोडशोमार्फत नेपाली पाइलटलाई पर्वतीय उडान र आपतकालीन अवस्थाको व्यावहारिक अनुभव प्रदान गरिरहेका छौं।”

Loft Dynamics का संस्थापक तथा CTO फाबी रिजेनले भने, “हामीले सुरक्षित र सुलभ तालिम सबैका लागि उपलब्ध गराउने लक्ष्यका साथ कम्पनी स्थापना गरेका हौं। परम्परागत फुल–फ्लाइट सिमुलेटर हिमाली जस्ता क्षेत्रमा व्यवहार्य हुँदैनन्। अब कम्प्याक्ट VR प्रणालीमार्फत नेपाली पाइलटले आफूले सामना गर्ने वास्तविक अवस्थामै सुरक्षित अभ्यास गर्न सक्नेछन्।” उनले यस पहलले दक्षिण एसियाका अन्य देशका पाइलट र अपरेटरहरूलाई समेत तालिमको पहुँच विस्तार गर्ने बताए।

यो पहल EU–South Asia Aviation Partnership Project अन्तर्गत कार्यान्वयन भइरहेको हो, जसलाई EASA ले दक्षिण एसियाली मुलुकहरूसँगको प्राविधिक सहकार्य कार्यक्रमका रूपमा सञ्चालन गर्दै आएको छ। उक्त परियोजनाले उड्डयन सुरक्षा, नियामक समन्वय र क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।Loft Dynamics AG VR–आधारित उडान तालिममा विश्व अग्रणी कम्पनी हो र यसको सिमुलेटरलाई अमेरिकी FAA र EASA दुवैले मान्यता दिएका छन्। Alaska Airlines, Los Angeles Police Department लगायतका संस्थाले यसको सेवा प्रयोग गर्दै आएका छन्। कम्पनीले हेलिकोप्टर, एयरलाइन्स र eVTOL का लागि पूर्ण–मोशन VR सिमुलेटर उत्पादन गर्दै आएको छ, जुन परम्परागत सिमुलेटरभन्दा आकारमा सानो र लागतमा किफायती छ।

कम्पनीले विश्वभर पाइलट तालिममा नयाँ प्रविधिको प्रयोगमार्फत दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

You might also like

Comments are closed.