विदेशमा रहेका नेपालीको अवस्था बुझ्न एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा

महानिर्देशक सापकोटाका अनुसार सम्बन्धित देशमा रहेका नेपालीले आफ्नो नजिकको नेपाली नियोग चयन गरी अनलाइनमार्फत विवरण दर्ता गर्न सक्नेछन् । उदाहरणका लागि यूएईमा रहेका नेपालीले अबुधाबीस्थित नेपाली दूतावास वा दुबईस्थित कन्सुलर कार्यालय रोज्न सक्ने व्यवस्था गरिएको छ ।

पोर्टलमा राहदानी नम्बर र जन्ममिति प्रविष्ट गरेपछि राहदानी विभाग सँगको डेटा सेयरिङमार्फत अन्य आधारभूत विवरण स्वतः भरिने प्रणाली विकास गरिएको छ । यसले फाराम भर्न सहज र छिटो बनाउने विभागको भनाइ छ।

फाराममा आफू सुरक्षित वा असुरक्षित अवस्थामा रहेको, तत्काल के समस्या परेको छ, आफूसँग कति नेपाली छन् लगायतका विवरण उल्लेख गर्न सकिन्छ । एउटै स्थानमा समूहमा रहेका नेपालीको हकमा एक जनाले सबैको तर्फबाट विवरण भर्न सक्ने सुविधा पनि राखिएको छ ।

पोर्टलमा संकलित विवरण नेपालबाटै केन्द्रीय रूपमा अनुगमन गर्न सकिनेछ । त्यसका आधारमा सम्बन्धित दूतावास तथा नियोगमार्फत आवश्यक समन्वय र सहजीकरण गरिनेछ ।

एयरपोर्टमा अलपत्र परेका नेपालीको हकमा सम्बन्धित एयरलाइन्ससँग समन्वय गरी उडान व्यवस्थापनमा सहजीकरण गर्न सकिने सापकोटाले बताइन् । साथै उच्च जोखिमयुक्त क्षेत्रमा रहेका नेपालीलाई रोजगारदाता, सम्बन्धित सरकार तथा अन्य सरोकारवालासँग समन्वय गरी सुरक्षित स्थानमा स्थानान्तरणका लागि पहल गरिनेछ ।

विभागका अनुसार हाल गन्तव्य मुलुकहरूले नेपालीसहित विदेशी कामदारहरूको सुरक्षालाई प्राथमिकतामा राखिरहेका छन् । नेपाली नियोगहरूले सम्पर्क गर्दा तत्काल प्रतिक्रिया पाइरहेको अवस्थाले अहिले नै अत्यधिक चिन्तित हुनुपर्ने अवस्था नरहेको जनाइएको छ ।

You might also like

Comments are closed.