जेनजी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौं । भदौ महिनामा भएको जेनजी आन्दोलनका घटनाबारे अध्ययन गर्न गठन गरिएको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेको हो। प्रतिवेदन बुझाउने क्रममा आयोगका पदाधिकारीहरू पनि उपस्थित थिए ।

भदौ २३ र २४ गते भएका आन्दोलनका घटनामा भएको मानवीय तथा भौतिक क्षतिको अनुसन्धान गर्न मन्त्रिपरिषद्ले उक्त आयोग गठन गरेको थियो । आयोगलाई प्रारम्भमा एक महिनाको समय दिइएको थियो भने पछि दुई पटक गरी थप समय प्रदान गरिएको थियो। पहिलो पटक २० दिन र दोस्रो पटक २५ दिन म्याद थप गरिएको थियो । अन्तिम म्याद सकिनु एक दिनअघि आयोगले प्रतिवेदन सरकारलाई बुझाएको हो ।

असोज ५ गते गठन गरिएको तीन सदस्यीय आयोगको नेतृत्व पूर्वन्यायाधीश कार्कीले गरेका थिए । आयोगका अन्य सदस्यमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी रहेका थिए।

भदौ अन्तिम सातामा दुई दिनसम्म चलेको जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो भने सयौँ व्यक्ति घाइते भएका थिए । सरकारी तथ्यांकअनुसार उक्त घटनाबाट करिब ८४ अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति पुगेको अनुमान गरिएको छ ।

सरकारले अब आयोगको प्रतिवेदनका आधारमा घटनाको थप अध्ययन, जिम्मेवार पक्षको पहिचान तथा आवश्यक नीतिगत निर्णय लिने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.