सांसद निर्वाचित भए लगत्तै किताब बेच्न हिँडेका महावीर पुन

काठमाडौं । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पनि महावीर पुन पुनः आफ्नै आत्मकथाको किताब बेच्न निस्किएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका पुन म्याग्दीबाट ठूलो मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । चुनावी जीतपछि पनि उनले आफ्नो अभियानलाई निरन्तरता दिँदै किताब बिक्री गर्न थालेका छन् ।

पुनका अनुसार आज बिहान १० बजेदेखि अमरसिंह चोक बाट आत्मकथाको किताब बिक्री सुरु गर्ने कार्यक्रम छ । त्यसपछि दिउँसो १ बजेदेखि पृथ्वीचोक र साँझ ४ बजेपछि महेन्द्रपुल मा किताब बिक्री गर्ने उनले जानकारी दिएका छन् ।

यसअघि पनि उनले आफ्नो आत्मकथा बिक्री गरेर आएको रकम वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि लगानी गर्दै आएका छन् ।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पुनले निर्वाचनका क्रममा पनि किताब बिक्री गर्ने योजना बनाएका थिए। तर निर्वाचन आयोग ले चुनावी अवधिमा किताब बेच्न अनुमति नदिएपछि त्यो सम्भव नभएको उनले बताएका छन् ।

‘आज पोखरा पुगेर बिहान १० बजेदेखि अमरसिंह चोकमा मेरो आत्मकथाको किताब बेच्न सुरु गर्नेछु । त्यसपछि पृथ्वीचोकमा १ बजेदेखि र महेन्द्रपुलमा ४ बजेपछि बेचिनेछ । चुनाव पनि लड्ने र किताब पनि बेच्ने भनेर किताबहरू लगेको थिएँ, तर निर्वाचन आयोगले चुनावमा किताब बेच्न दिएन । वीरगञ्ज कृषि औजार कारखाना मज्जाले चलिरहेकै छ, त्यसैले पैसा त चाहियो नि,’ पुनले सामाजिक सञ्जालमा लेखेका छन् ।

You might also like

Comments are closed.