काठमाडौं । राइड–हेलिङ प्लेटफर्म इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ कार्यक्रम आयोजना गर्दै क्याब र मोटरबाइक (मोटो) श्रेणीका उत्कृष्ट ड्राइभर पार्टनरहरूलाई सम्मान गरेको छ ।
काठमाडौंमा आयोजित औपचारिक समारोहमा प्लेटफर्ममा दीर्घकालीन प्रतिबद्धता देखाउँदै उत्कृष्ट सेवा प्रदान गरेका ड्राइभर–पार्टनरहरूको विश्वास, समर्पण र निरन्तर उत्कृष्ट प्रदर्शनको कदर गर्दै सम्मान गरिएको हो । कार्यक्रममा विभिन्न श्रेणीका ड्राइभर पार्टनरहरूलाई एकै ठाउँमा ल्याई उनीहरूको योगदानलाई विशेष रूपमा प्रशंसा गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै इनड्राइभकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले उपस्थित सबैलाई स्वागत गर्दै ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ कार्यक्रमको महत्वबारे प्रकाश पारिन् । उनले ड्राइभर–पार्टनर र यात्रुबीचको आपसी विश्वासलाई सम्मान गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताइन् । उनका अनुसार यही विश्वास नेपालमा इनड्राइभका सेवाहरू सञ्चालन हुने मुख्य आधार हो ।
अवार्ड वितरण समारोह विशेष अतिथि अभिनेत्री प्रियांका कार्कीको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा सुनिता जीमी राई, एपीएसीका ड्राइभर्स मार्केटिङ लीड योक्षा द्वी एड्रियान्टो तथा अनास्तासिया तेरेन्तिएभाले संयुक्त रूपमा विभिन्न विधाका विजेताहरूलाई सम्मान प्रदान गरेका थिए ।
कार्यक्रमअन्तर्गत तीन प्रमुख विधामा अवार्ड प्रदान गरिएको थियो। ‘टप परफर्मिङ ड्राइभर पार्टनर–पाँच वर्ष’ अन्तर्गत प्लेटफर्मप्रति दीर्घकालीन प्रतिबद्धता र निरन्तर योगदानको कदर गर्दै १० जना क्याब तथा १० जना मोटो ड्राइभरलाई सम्मान गरिएको थियो ।
त्यस्तै ‘टप परफर्मिङ ड्राइभर पार्टनर–तीन वर्ष’ विधामा निरन्तर उत्कृष्ट सेवा र समर्पणका लागि १० जना क्याब र १० जना मोटो ड्राइभरलाई अवार्ड प्रदान गरिएको थियो ।
सन् २०२५ मा उत्कृष्ट प्रदर्शन गरेका ड्राइभर–पार्टनरहरूलाई ‘टप परफर्मिङ ड्राइभर पार्टनर–२०२५’ विधाअन्तर्गत सम्मान गरिएको थियो । यसअन्तर्गत १० जना पुरुष क्याब, १० जना पुरुष मोटो, १० जना महिला क्याब तथा १० जना महिला मोटो ड्राइभरलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममार्फत कुल ८० जना ड्राइभर–पार्टनरहरूलाई उनीहरूको व्यावसायिकता, विश्वसनीयता तथा काठमाडौंमा शहरी यातायात सेवा सुदृढ बनाउन पुर्याएको योगदानका लागि सम्मान गरिएको थियो ।
समारोहको समापन सत्रमा बोल्दै एपीएसीका ड्राइभर्स मार्केटिङ लीड योक्षा द्वी एड्रियान्टोले प्लेटफर्मको दीर्घकालीन दिगोपनाका लागि सम्मान–आधारित संलग्नताको महत्वमा जोड दिए ।
उनका अनुसार ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ जस्ता पहलमार्फत इनड्राइभ नेपालले केवल संख्यामा आधारित प्रदर्शन मात्र होइन, इमान्दारिता, विश्वास र उत्कृष्ट सेवा जस्ता मूल्यहरूलाई पनि प्राथमिकता दिँदै आएको छ, जसले नेपालमा प्लेटफर्मको विकासलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ ।






Comments are closed.