काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने बताएका छन् ।
बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको फार्मा एक्स्पोलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले लामो समयदेखि स्थिर सरकारको आवश्यकता औँल्याउँदै आएको र अब त्यो पूरा हुने चरणमा पुगेको बताए ।
उनकाअनुसार स्थिर सरकारले दीर्घकालीन नीति ल्याएर आर्थिक गतिविधि बढाउन सक्छ । करिब दुई तिहाइ बहुमत नजिकको सरकार बन्न लागेको उल्लेख गर्दै उनले निजी क्षेत्रसँग सम्बन्धित विषयहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वाचापत्रमा पनि समावेश गरिएको स्मरण गराए ।
ढकालले रास्वपाले वाचापत्रमार्फत निजी क्षेत्रमैत्री प्रतिबद्धताहरू व्यक्त गरेको उल्लेख गर्दै ती प्रतिबद्धता इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्ने बताए । उनका अनुसार ती प्रतिबद्धताहरू प्रभावकारी रूपमा लागू भएमा छोटो समयमै उल्लेख्य आर्थिक प्रगति सम्भव हुनेछ ।उनले आगामी सरकारले बाह्य तथा आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने खालका नीतिहरू ल्याउनुपर्ने पनि बताए ।






Comments are closed.