काठमाडौं । माउन्टेन ड्यु नेपालको “Peaks of Courage” अभियानले एसिया–प्रशान्त क्षेत्रको सर्वाधिक प्रतिष्ठित रचनात्मक अवार्ड समारोह ‘स्पाइक्स एसिया’ (Spikes Asia) मा १ ग्रान्ड प्रिक्स, १ सिल्भर र २ ब्रोन्ज गरी कुल ४ वटा अवार्ड प्राप्त गरेको छ। विश्वकै एक प्रतिष्ठित रचनात्मक मञ्चमा नेपाली अभियानले हासिल गरेको यो एक ऐतिहासिक सफलता हो।
सगरमाथाभन्दा बाहिर रहेका नेपालको समृद्ध पर्वतारोहण विरासतलाई विश्वसामु चिनाउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले कम चर्चामा रहेका हिमालहरू र तिनमा लुकेका साहसका प्रेरणादायी कथाहरूलाई उजागर गरेको थियो। कथावाचन (Storytelling), डिजिटल संलग्नता तथा इमर्सिभ ब्रान्ड एक्सपिरियन्स (Immersive Brand Experience) को उत्कृष्ट संयोजनमार्फत “Peaks of Courage” ले नेपालको हिमाली पहिचानलाई साहसी र जीवन्त रूपमा प्रस्तुत गरेको थियो।
यस अभियानमा ‘लोकल एक्टिभेसन पार्टनर’ (Local Activation Partner) का रूपमा जोडिन पाएकोमा डिजिटल ईन (Digitalin) ले विशेष गौरव महसुस गरेको छ। नेपालमा यसको प्रभावकारी कार्यान्वयन तथा दर्शकहरूसँगको व्यापक संलग्नता सुनिश्चित गर्न डिजिटल ईनले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। अभियानको मूल मर्म जोगाइराख्न डिजिटल ईनले शेर्पा समुदायका दिग्गज व्यक्तित्वहरूसँग समन्वय गर्दै अभियानलाई थप प्रमाणिक र भावनात्मक रूपमा सशक्त बनाएको थियो।
यस सफलताबारे डिजिटल ईनका संस्थापक तथा कार्यकारी निर्देशक उमङ्ग शाक्य भने”,“यो केवल हाम्रो अभियानको सफलता मात्र होइन, समग्र नेपाली रचनात्मक उद्योगका लागि पनि गौरवको क्षण हो। ‘पिक्स अफ करेज’ को नेपाली कार्यान्वयनमा स्थानीय साझेदारका रूपमा जोडिन पाउनु हाम्रा लागि अत्यन्तै गर्वको विषय हो। स्पाइक्स एसियाजस्तो प्रतिष्ठित मञ्चमा नेपालको अभियानले यस्तो उच्च मान्यता पाउनु नेपाली विज्ञापन जगतका लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित भएको छ, जसलाई हामी सम्पूर्ण टिमले हर्षोल्लासका साथ मनाइरहेका छौँ।”
यो उपलब्धिले नेपाली विज्ञापन तथा रचनात्मक क्षेत्रमा नयाँ आयाम थपेको छ। साथै स्थानीय संस्कृति र मौलिक पहिचानमा आधारित कथाहरूले विश्वस्तरमा समेत सम्मान पाउन सक्छन् भन्ने तथ्यलाई पुष्टि गरेको छ।
प्राप्त अवार्डहरूको विवरण:
• ग्रान्ड प्रिक्स (Grand Prix) – एक्टिभेसन (Activation)
• सिल्भर (Silver) – इनोभेसन (Innovation)
• ब्रोन्ज (Bronze) – क्रिएटिभ डेटा (Creative Data)
• ब्रोन्ज (Bronze) – ब्रान्ड एक्सपिरियन्स (Brand Experience)






Comments are closed.