पर्यटन प्रवर्द्धनका लागि ‘राइड टुरिजम’

अमृत जोशी, संयोजक, हिमालयन राइडर्स एवं पूर्व अध्यक्ष चितवन अटोमोबाइल एसोसिएसन

नेपालको पर्यटन क्षेत्रमा ‘राइड टुरिजम’ एउटा नयाँ र उत्साहजनक आयामका रूपमा विकास हुँदैछ । यसै सन्दर्भमा हिमालयन राइडर्सले आगामी चैत ११ देखि १६ गतेसम्म चितवनदेखि डोल्पासम्मको साहसिक यात्रा आयोजना गर्दैछ । यस यात्राको तयारी र उद्देश्यका बारेमा हिमालयन राइडर्सका संयोजक एवं चितवन अटोमोबाइल एसोसिएसनका पूर्व अध्यक्ष अमृत जोशीसँग गरिएको संक्षिप्त कुराकानी :

हिमालयन राइडर्सले चितवनबाट डोल्पासम्म बाइक राइड गर्दैछ । राइडको तयारी कस्तो छ ?

हामी अहिले अन्तिम तयारीमा छौँ । व्यवस्थापनका सबै पक्षहरू, जस्तै रुट निर्धारण, सुरक्षा र बस्ने व्यवस्था मिलाउने कामहरू सम्पन्न भइसकेका छन् । हामी यात्राका लागि पूर्ण रूपमा तयार भएर बसेका छौं ।

राइडमा कति जना सहभागी हुँदै हुनुहुन्छ ?

हामी कुल २२ जना राइडरहरू यो साहसिक यात्रामा जाँदैछौँ ।

सहभागीहरू प्राय सबै अटोमोबाइल व्यवसायी मात्र हुनुको कुनै खास कारण छ कि ?

त्यस्तो खासै विशेष कारण त छैन । मुख्य कुरा व्यवस्थापनको हो । २२-२५ जना भन्दा बढी हुँदा यात्राको व्यवस्थापनमा केही समस्या हुन सक्छ । हामी व्यवसायी साथीहरू तुरुन्तै जुट्न सक्ने भएकाले पनि यस्तो देखिएको हो । हाम्रो प्राथमिकता जहिले पनि हिमाल देखिने उच्च पहाडी क्षेत्र नै हुन्छ । त्यस्ता ठाउँमा बाटोको अवस्था र होटलको सीमितताका कारण ठूलो समूहमा राइड गर्न प्राविधिक रूपमा पनि चुनौतीपूर्ण हुन्छ । त्यसैले हामी सानो र चुस्त समूहमा निस्कन लागेका हौँ । राइड र अटोमोबाइलमा चासो हुनेहरुलाई प्राथमिकतामा भने राखेका हौं ।

राइड आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?

हाम्रो मुख्य उद्देश्य आन्तरिक पर्यटन प्रवर्द्धन नै हो । विशेषगरी हामी ‘राइड टुरिजम’लाई प्रवद्र्धन गर्न चाहन्छौँ । यस पटकको हाम्रो थिम पनि यही हो । यदि नेपालमा राइड टुरिजमलाई राम्रोसँग ब्रान्डिङ गर्ने हो भने उच्च पहाडी र हिमाली भेगमा उल्लेख्य रूपमा पर्यटकको संख्या बढाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।

डोल्पासँगै अन्य कुन–कुन गन्तव्यहरूलाई समेट्नुभएको छ ?

हामी यो यात्रामा ४ वटा प्रदेशका १५ वटा जिल्लाहरू घुम्नेछौँ । यस पटकको मुख्य गन्तव्य डोल्पा भएपनि हामीले मार्गमा पर्ने पोखरा, बाग्लुङ, रुकुम, जाजरकोट, सल्यान र लुम्बिनी जस्ता क्षेत्रहरूलाई पनि विशेष फोकस गरेका छौँ ।

हिमालयन राइडर्सले यसअघि यस्ता कतिवटा कार्यक्रम गरिसकेको छ ?

हालसम्म हामीले लामो र छोटो गरी १० वटा राइडहरू सफलतापूर्वक सम्पन्न गरिसकेका छौँ । जसमा मनाङ, ढोरपाटन, रुकुमको टकसेरा, सिक्लेस र पोखरा जस्ता क्षेत्रका मुख्य राइडहरू समावेश छन् ।

आगामी दिनमा यो अभियान कसरी अगाडि बढ्छ ?

यसले अवश्य पनि निरन्तरता पाउनेछ । हामी प्रकृतिसँग रम्न र नयाँ ठाउँ घुम्न रुचाउँछौँ । आगामी दिनका लागि हामीले पश्चिममा रारा, हुम्ला र रामारोसनलाई लक्ष्य बनाएका छौँ । त्यस्तै, पूर्वमा गुराँसको राजधानी तिजुरे, सोलु सल्लेरी, सैलुङ र कालिन्चोकलाई हाम्रो भावी गन्तव्यको सूचीमा राखेका छौँ ।

You might also like

Comments are closed.