आजको युगमा ‘इनोभेसन’ शब्द निकै लोकप्रिय छ । तर, के कुनै नयाँ काम गर्नु वा नयाँ प्रविधि भित्र्याउनु मात्रै वास्तवमा नवप्रवर्तन हो ? साँचो अर्थमा, इनोभेसन भनेको ‘यो गर्न सकिन्छ ?’ भन्ने जिज्ञासा मात्र होइन, बरु ‘यो गरेपछि यसले वास्तविक मूल्य (भ्यालु) दिन्छ र यो दीर्घकालीन रूपमा टिक्छ कि टिक्दैन ?’ भन्ने प्रश्नको उत्तर हो ।
हाम्रो समाजमा अक्सर ‘रियाक्टिभ इनोभेसन’ देखिने गर्छ । केही नयाँ र आकर्षक देख्नेबित्तिकै त्यसको गहिरो प्रभाव नसोची अपनाउने प्रवृत्ति हामीमा छ । तर, कुनै पनि प्रविधिको सफलता त्यसको चमकधमकमा होइन, त्यसको आर्थिक सम्भाव्यता, स्केलेबिलिटी र व्यावहारिक निरन्तरतामा लुकेको हुन्छ ।
मेसिन राख्नु मात्र प्रगति होइन
एउटा साधारण उदाहरण शहरका विभिन्न ठाउँमा राखिएका ‘वाटर एटीएम’लाई लिन सकिन्छ । सुरुवातमा यो निकै आधुनिक र प्रगतिशील कदम देखिन्छ । तर, यदि त्यसको फिल्टर मर्मत, स्पेयर पाट्र्सको उपलब्धता र स्थानीय प्राविधिकको व्यवस्था पहिले नै सोचिएन भने ती केही वर्षमै कबाडमा परिणत हुन्छन् । वास्तविक इनोभेसन मेसिन ठड्याउनु मात्र होइन, त्यो मेसिन वर्षौँसम्म चलिरहने वातावरण सुनिश्चित गर्नु हो ।
ईभी कन्भर्जन : उत्साह कि आर्थिक जोखिम ?
यही तर्क अहिले नेपालमा चर्चामा रहेको पुराना पेट्रोलियम (आइस) गाडीलाई विद्युतीय (इभी) मा रूपान्तरण गर्ने विषयमा पनि लागू हुन्छ । पक्कै पनि, अनुसन्धान केन्द्रहरू, तीन पाँङ्ग्रे सवारी, युटिलिटी कार्ट वा सीप विकासका लागि कन्भर्जन एउटा उत्कृष्ट प्लेटफर्म हुन सक्छ । तर, निजी सवारी साधनको हकमा यसका केही गम्भीर पाटाहरू छन् :
- लागत र प्रतिफल : जब कन्भर्जनको लागत नयाँ ईभीको मूल्यको नजिक पुग्छ, तब यसको सान्दर्भिकता कमजोर हुन्छ ।
- सुरक्षा र सीमितता : पुरानो च्यासिस र मेकानिकल बनावट नयाँ प्रविधिको ब्याट्री र मोटरको भार वहन गर्न कति सक्षम छ ? पुरानो प्रविधिमा नयाँ प्रविधि ‘जबरजस्ती’ फिट गर्दा सुरक्षाका जोखिमहरू रहन्छन् ।
- पुनः बिक्री मूल्य (रिसेल भ्यालु) : थप लगानी गरे पनि सवारीको पहिचान पुरानै दर्ता किताबमा सीमित हुन्छ । भविष्यमा यसको रिसेल भ्यालु अनिश्चित हुन्छ, जसको सिधा घाटा ग्राहकलाई नै पर्छ ।
- बजारको गति : विश्वबजारमा ब्याट्रीको मूल्य घट्दै जाँदा नयाँ ईभीहरू अझ सस्तो र उन्नत हुँदै गइरहेका छन् । यस्तो अवस्थामा पुरानो गाडीमा ठूलो लगानी गर्नु जोखिमपूर्ण हुन सक्छ ।
विश्वव्यापी अभ्यासबाट के सिक्ने ?
चीन, जापान र कोरिया जस्ता इन्जिनियरिङ र स्रोत–साधनमा अब्बल राष्ट्रहरूले पनि निजी सवारीको ‘कन्भर्जन’ लाई मुख्यधार बनाएका छैनन् । तिनीहरू स्केलेबल ईभी म्यानुफ्याक्चरिङमा केन्द्रित छन् । यो आफैँमा एउटा ठूलो आर्थिक संकेत हो । यदि कन्भर्जन आर्थिक र प्राविधिक रूपमा ‘स्केलेबल’ हुन्थ्यो भने यी देशहरूले यसलाई पहिले नै व्यापक बनाइसक्ने थिए ।
निष्कर्ष
इनोभेसन र प्रगति कतै न कतैबाट सुरु हुनैपर्छ, यसमा दुईमत छैन । तर, सुरुवात त्यस्तो ठाउँबाट हुनुपर्छ जहाँ असफल भइहाले पनि क्षति कम होस् र सर्वसाधारणको पैसामा ठूलो जोखिम नपरोस् ।

हाम्रो जोड नयाँ गाडी बेच्नेमा मात्र होइन, बरु स्रोतको सही सदुपयोग र नागरिकको लगानीको सुरक्षा गर्ने खालको ‘स्मार्ट इनोभेसन’ मा हुनुपर्छ ।
(थपलिया अटोमोबाइल क्षेत्रमा आबद्ध छन् । सामाजिक सञ्जालमा व्यक्त उनको विचारलाई सम्पादनसहित यहाँ प्रस्तुत गरिएको हो ।)






Comments are closed.